भीमफेदीमा स्कार्पियो दुर्घटना : उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते
काठमाडौँ । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कार्पियो मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब ७ बजे भीमफेदी गाउँपालिका–६ जुरीखेलमा प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कार्पियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश ५७ वर्षीय गोकर्ण डाँगी र रजिस्ट्रार ५१ वर्षीय तारादत्त बडू घाइते भएका छन्। उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
रजिस्ट्रार बडूकी ४९ वर्षीया श्रीमती लक्ष्मी बडू गम्भीर घाइते भएकी छन्। दुर्घटनामा उनका २५ वर्षीय छोरा रितेन्द्र बडू, ३१ वर्षीया दिदी रिता बडू र गाडी चालक ३२ वर्षीय छुनिलाल चौधरी पनि घाइते भएका छन्।
घाइते सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया