गङ्गादशहरा अवसरमा गोसाइँकुण्डमा विशेष मेला सुरु, भक्तजनको घुइँचो
रसुवा। हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र गोसाइँकुण्ड मा गङ्गादशहरा पर्वको अवसरमा वार्षिक विशेष मेला सुरु भएको छ। जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुनेछ। भगवान् शिवको दर्शन तथा पवित्र कुण्डमा स्नान गर्न देश–विदेशबाट भक्तजन पुग्न थालेका छन्।
चन्दनबारीका होटल व्यवसायीका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ। धार्मिक मान्यताअनुसार गङ्गादशहराका दिन गोसाइँकुण्डमा स्नान गर्दा पाप नाश हुने विश्वास छ।
समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा रहेको गोसाइँकुण्ड पुग्न कठिन भए पनि स्नानपछि थकान मेटिने यात्रुहरूको अनुभव छ। यात्रुको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ भने स्वास्थ्यकर्मीले लेक लाग्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्।
तपाईको प्रतिक्रिया