बिहीबार ७ जेठ २०८३
राजनीति

बाजुरा–हुम्ला घटनामा सांसदहरूको आपत्ति, दोषीमाथि कडा कारबाहीको माग

बिहीबार जेठ ७, २०८३/ Thursday 05-21-26

काठमाडौं । बाजुरा–हुम्ला सीमामा भएको घटनाबारे निष्पक्ष छानबिन गर्न र दोषीमाथि कारबाही गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसदहरूले सीमाक्षेत्रमा पटक–पटक देखिँदै आएका विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।

नेपाली कांग्रेसका एक सांसदले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्न माग गर्दै सीमामा भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाए। उनका अनुसार यही ४ गते बाजुरा जिल्लाको हिमाली गाउँपालिका–३ र हुम्लाको सीमाक्षेत्रमा भएको घटनामा स्थानीय जनप्रतिनिधि, प्रहरी तथा कर्मचारीमाथि सांघातिक आक्रमण भएको थियो।

उनले भने, “हिमाली गाउँपालिका–३ का कार्यपालिका सदस्य पेम्बा गारा शेर्पा, उनकी श्रीमती लक्ष्मी गुरुङ, मिन कुँवर, नरबहादुर गुरुङ, बिछ्या चौकीका प्रहरी सहायक निरीक्षक महेश धामी तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापामाथि आक्रमण भएको छ। घाइतेहरूको उपचार सुर्खेतमा भइरहेको छ।”

सांसदले घटनाका दोषीमाथि कडा कारबाहीको माग गर्दै सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, बाजुराको रानीसैना क्षेत्रको विकास प्रवर्द्धनका लागि जाँदै गरेको धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालसहितको टोलीलाई अवरोध गरिएको विषयमा पनि छानबिनको माग गरिएको छ।

कांग्रेस सांसद जयपति रोकायाले हुम्ला–बाजुरा सीमा विवादलाई वार्ता र संवादमार्फत तत्काल समाधान गर्न सरकारसँग आग्रह गरे। उनका अनुसार विवादका कारण कर्णाली राजमार्ग अवरुद्ध हुँदा बिरामी, विद्यार्थी र सर्वसाधारणलाई ठूलो असर परेको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै स्थानीय सुरक्षा, जडीबुटी संरक्षण तथा घाइतेहरूको उपचारमा सरकारको ध्यान जानुपर्ने बताए। उनले सो क्षेत्रमा अवैध जडीबुटी तथा वन्यजन्तु तस्करी रोक्न सुरक्षा उपस्थिति आवश्यक रहेको पनि उल्लेख गरे।

बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सीमा विवादलाई लिएर मंगलबार भएको झडपमा ६ जना घाइते भएको बताइएको छ।

 

तपाईको प्रतिक्रिया