क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसले खटायो सातै प्रदेशमा कमाण्डर
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई प्रभावकारी र तीव्र बनाउन प्रदेशअनुसार नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई संगठनका सबै तह परिचालन गर्दै अनुगमन गर्ने जिम्मा दिइएको हो।
कांग्रेसले ‘जरा अभियान’सँगै वैशाख महिनादेखि क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गरिरहेको छ। साथै, सदस्यहरूको विवरणलाई डिजिटल प्रणालीमा लैजाने तयारीसमेत भइरहेको नेताहरूले बताएका छन्।
प्रदेशगत जिम्मेवारीअनुसार सहमहामन्त्री डिला संग्रौला कोशी प्रदेश, बहादुर सिंह लामा बागमती, उदयशम्शेर राणा सुदूरपश्चिम, नेता मुक्ताकुमारी यादव गण्डकी, जानकी सिंह कर्णाली, प्रवक्ता देवराज चालिसे मधेस तथा अमरसिंह पुन लुम्बिनी प्रदेशमा खटाइएका छन्।
सानेपामा बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक सभापति गगन थापाको उपस्थितिमा तथा संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।
बैठकले १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण हुन बाँकी सदस्यहरूको विवरण जेठ २१ गतेभित्र केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्ने निर्णय गरेको छ।
त्यस्तै, १४औँ महाधिवेशनका बेला गठन गरिएको क्रियाशील सदस्यता छानबिन समितिबाट मान्यता पाएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई निर्देशन दिने निर्णयसमेत गरिएको छ।
विभिन्न दलबाट कांग्रेसमा समाहित भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधान गर्न १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौं जिल्लामा प्रतिनिधिहरू परिचालित गरिएका हुन्।
यसैबीच, विदेशस्थित जनसम्पर्क समितिहरूका हकमा पनि विभिन्न निर्णय भएका छन्। अधिवेशन सम्पन्न भइसकेका ७ देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकका लागि अनुमति दिने निर्णय गरिएको छ भने समस्या नदेखिएका १५ देशका समितिलाई सदस्यता अद्यावधिक गरी अधिवेशनको समयतालिका केन्द्रीय कार्यालयमा बुझाउन भनिएको छ।
त्यसैगरी, लामो समयदेखि केन्द्रीय कार्यालयसँग समन्वयमा नरहेका ७ देशका जनसम्पर्क समितिलाई सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्न परिपत्र गर्ने निर्णय भएको छ। सदस्यतासम्बन्धी विवाद रहेका ८ देशका जनसम्पर्क समितिको समस्या अध्ययन गरी समाधानका लागि आवश्यक समन्वय गरिने कांग्रेसले जनाएको छ।
बैठकले केन्द्रीय कार्यालयका सहसचिव प्रेम विश्वकर्मालाई कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिव नियुक्त गर्ने निर्णय पनि गरेको छ।
तपाईको प्रतिक्रिया