काठमाडौं । मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयसँग सम्बन्धित चार महत्वपूर्ण निर्णय गरेको छ । सोमबार बसेको बैठकले धानको न्यूनतम समर्थन मूल्य निर्धारणदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्तिसम्मका निर्णय गरेको हो ।
बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको सरकारका प्रवक्ता कार्यालयले जनाएको छ ।
यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वर्षे धान बालीको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार मोटा धानको प्रति क्विन्टल ३ हजार ६६० रुपैयाँ तथा मध्यम धानको प्रति क्विन्टल ३ हजार ८६० रुपैयाँ कायम गरिएको हो ।
मन्त्रिपरिषद्ले सहकारी क्षेत्रमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय समेत गरेको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय अन्तर्गत गठित आयोगको प्रतिवेदन सार्वजनिक गरिने भएको हो ।
त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा सहसचिव मुकेश डंगोललाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
तपाईको प्रतिक्रिया