मापसेबाट गत वैशाखमा देशभर १ सय २४ सवारी दुर्घटना, १२ जनाको मृत्यु
काठमाडौँ । मादक पदार्थ सेवन गरेर सवारी चलाउने क्रम बढ्दै जाँदा देशभर सवारी दुर्घटनाका घटना पनि बढिरहेका छन् । नेपाल प्रहरीका अनुसार गत वैशाख महिनामा मात्रै मापसेका कारण १२४ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १२ जनाले ज्यान गुमाएका छन् भने १७४ जना घाइते भएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्ले का अनुसार काठमाडौँ उपत्यकाभित्र मात्रै ३७ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन् ।
प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा ३५ दुर्घटनामा दुई जनाको मृत्यु र ५३ जना घाइते भएका छन् । मधेस प्रदेशमा २० दुर्घटनामा २७ जना घाइते भएका छन् भने बागमती प्रदेशमा १२ दुर्घटनामा एक जनाको ज्यान गएको र १९ जना घाइते भएका छन् ।
त्यसैगरी गण्डकी प्रदेशमा पाँच दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । लुम्बिनी प्रदेशमा नौ दुर्घटनामा तीन जनाको मृत्यु र १५ जना घाइते भएका छन् । कर्णाली प्रदेशमा तीन दुर्घटनामा तीन जना घाइते भएका छन् भने सुदूरपश्चिम प्रदेशमा भएका तीन दुर्घटनामा चार जना घाइते भएका प्रहरीले जनाएको छ ।
प्रहरीले मापसेका कारण सवारी दुर्घटनाको जोखिम अत्यधिक बढिरहेको भन्दै ट्राफिक नियम पालना गर्न सबै चालकलाई आग्रह गरेको छ । विशेषगरी रातिको समय, सार्वजनिक बिदा तथा चाडपर्वका अवसरमा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढी देखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी ले मापसे गरेर सवारी चलाउनु कानुनी अपराध मात्र नभई मानवीय जीवनका लागि गम्भीर जोखिम भएको बताए । उनका अनुसार ट्राफिक प्रहरीले पछिल्लो समय शहरी क्षेत्र, राजमार्ग तथा व्यस्त चोकहरूमा चेकजाँचलाई कडाइ गर्नुका साथै जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिरहेको छ ।
तपाईको प्रतिक्रिया