मंगलबार १२ जेठ २०८३
राजनीति

प्रधानमन्त्री बालेनले गणतन्त्र दिवसमा पनि सम्बोधन नगर्ने

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने गणतन्त्र दिवस मूल समारोहमा सम्बोधन नगर्ने भएका छन्।

यसका लागि उनले मुख्यसचिवमार्फत् राष्ट्रपति रामचन्द्र पौडेल लाई पत्र पठाउँदै समारोहलाई सम्बोधन गर्न आग्रह गरेको स्रोतले जनाएको छ।

यसअघि वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि प्रधानमन्त्री शाह बीचमै उठेर बाहिरिएका थिए। त्यसयता उनी संसद्मा फर्किएका छैनन्। संसद् भवन नजिकै रहेको प्रधानमन्त्री कार्यालयमा बसेर संसद्को प्रत्यक्ष प्रसारण हेरेको भन्दै व्यवस्थापिकालाई बेवास्ता गरेको आरोप समेत लागिरहेको छ।

गणतन्त्र दिवस समारोहमा राष्ट्रपतिको उपस्थिति रहने भए पनि सम्बोधन गर्ने परम्परा भने प्रधानमन्त्रीकै रहँदै आएको थियो। तर यसपटक प्रधानमन्त्री शाहले उक्त जिम्मेवारी राष्ट्रपतिलाई सुम्पिएका हुन्।

यसअघि भने उनले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा आयोजित नवआयुक्त अधिकृतहरूको कवाज समारोहलाई सम्बोधन गरेका थिए।

वि.सं. २०६५ जेठ १५ गते संविधान सभाले २३८ वर्ष पुरानो राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेपछि हरेक वर्ष गणतन्त्र दिवस मनाउने परम्परा रहँदै आएको छ।

 

तपाईको प्रतिक्रिया