मंगलबार १२ जेठ २०८३
खेलकुद

भूटानमाथि नेपालको विजयी सुरुवात, साफ महिला च्याम्पियनशिपमा १–० को जित

सोमबार जेठ ११, २०८३/ Monday 05-25-26

काठमाडौँ । नेपालले साफ महिला च्याम्पियनशिपमा शानदार सुरुवात गर्दै भूटानलाई पराजित गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरु रङ्गशालामा सोमबार सम्पन्न उद्घाटन खेलमा नेपालले भूटानलाई १–० गोलअन्तरले हराएको हो ।

नेपालको जितमा निर्णायक गोल गीता रानाको नाममा रह्यो । खेलको २३औँ मिनेटमा उनले गरेको आक्रमण भूटानी खेलाडीबाट रोक्ने प्रयास भए पनि बल आफ्नै पोस्टतर्फ मोडिँदा नेपालले अग्रता लिन सफल भयो । त्यसपछि नेपालले खेलभर उत्कृष्ट प्रदर्शन गर्दै अग्रता जोगायो ।

नेपाल, भूटान र श्रीलङ्का रहेको समूह चरणमा नेपालले पहिलो खेलमै महत्वपूर्ण तीन अंक जोडेको छ । अब नेपालले आफ्नो दोस्रो तथा अन्तिम समूह चरणको खेल आउँदो आइतबार जेठ १७ गते श्रीलङ्कासँग खेल्नेछ ।

यता समूह ‘बी’ मा साविक विजेता बङ्गलादेशसँगै भारत र माल्दिभ्स रहेका छन् । प्रतियोगिताको दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने फाइनल खेल जेठ २३ गते आयोजना हुनेछ ।

 

तपाईको प्रतिक्रिया