जलविद्युत उत्पादन र प्रसारण विस्तारका लागि ७० अर्ब विनियोजन
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि ऊर्जा क्षेत्रमा ठूलो लगानी गर्ने घोषणा गरेका छन्। निर्माणाधीन प्रसारण लाइन र सबस्टेशन सम्पन्न गर्न सरकारले ७० अर्ब रुपैयाँ विनियोजन गरेको उनले बताए।
लगानी बोर्डमार्फत करिब ३ हजार मेगावाट क्षमताका जलविद्युत आयोजना विकासका लागि आवश्यक सहजीकरण गरिने पनि बजेटमा उल्लेख गरिएको छ।
सरकारले आगामी वर्ष जलविद्युतबाट ६७० मेगावाट र सौर्य ऊर्जाबाट ३७० मेगावाट गरी कुल १,०४० मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा थपिने लक्ष्य राखेको छ। यससँगै देशको कुल जडित विद्युत क्षमता ५,५३५ मेगावाट पुग्ने अनुमान गरिएको छ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना चालु आर्थिक वर्षमै सम्पन्न गरिनेछ। साथै तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, माथिल्लो त्रिशूली बी तथा बूढीगण्डकी आयोजनाको कामलाई तीव्रता दिइने सरकारको योजना छ।
त्यस्तै, १,०६१ मेगावाटको माथिल्लो अरुण, ८२८ मेगावाटको उत्तरगंगा, २१० मेगावाटको चैनपुर–सेती, ९९ मेगावाटको तामाकोशी र ७७ मेगावाटको घन्से खोला आयोजनाका लागि वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया अघि बढाइनेछ।
यसैगरी, ४१७ मेगावाटको नलगाड, ४९० मेगावाटको अरुणगाड र २८१ मेगावाटको नौमेरे आयोजनाको अध्ययन कार्य पनि अगाडि बढाइने भएको छ।
तपाईको प्रतिक्रिया