काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सांसदहरूले किसानका लागि आवश्यक रासायनिक मलको अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।
आकस्मिक समयमा बोल्दै सांसद ताहिर अली भाटले देशका विभिन्न जिल्लामा डिएपी र युरिया मल नपुगेको भन्दै खेतीपातीको मुख्य समयमा किसानहरू समस्यामा परेको बताए। उनले हरेक वर्ष यही समस्या दोहोरिने गरेको उल्लेख गर्दै कृषि क्षेत्रमा देखिएको बिचौलिया प्रवृत्तिको अन्त्य गर्न सरकारलाई आग्रह गरे।
बैठकमा सांसद यज्ञबहादुर बोगटीले अछामको मङ्गलसेन नगरपालिका–५ का ३० वर्षीय रेवन्त विष्ट केही दिनदेखि काठमाडौँबाट बेपत्ता भएको जानकारी गराए। प्रहरीमा उजुरी दिँदा पनि प्रभावकारी खोजी नभएको भन्दै उनले सरकारसँग आवश्यक पहल गर्न अनुरोध गरे।
सांसद साजिदा खातुन सिद्धिकीले बालअधिकार संरक्षणलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन्। त्यस्तै सांसद राजेन्द्रकुमार राईले रोपाइँको समयमा किसानले मल नपाएको समस्या उठाउँदै तत्काल समाधानको माग गरे।
सांसद रञ्जु न्यौपानेले पछिल्ला दिनमा साइबर अपराधका घटना बढ्दै गएको भन्दै साइबर ब्यूरोलाई थप सक्रिय र प्रभावकारी बनाउन सरकारसँग आग्रह गरिन्।
सांसद निश्कल राईले चिया तथा सुपारी खेतीको प्रवर्द्धनका लागि विशेष नीति आवश्यक रहेको बताए। उनले दूध उत्पादक किसानहरूले लामो समयदेखि दूधको भुक्तानी र उचित मूल्य नपाएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यान जानुपर्ने बताए।
सांसद जोककुमार बरबरिया यादवले जल, जमिन, जंगल तथा चुरे क्षेत्रको संरक्षणमा प्रभावकारी कदम चाल्न आग्रह गरे भने सांसद क्षितिज थेबेले ताप्लेजुङको फुङ्लिङ बजार–सुकेटार सडक विस्तारका क्रममा प्रभावित भएका टहरा तथा घरधुरीको उचित व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराए।
यसैगरी सांसद मोहम्मद फिरदोश आलमले रौतहटमा एक महिलाको हत्या भएको घटनाप्रति चिन्ता व्यक्त गर्दै दोषीलाई यथाशीघ्र पक्राउ गरी कडा कारबाही गर्न माग गरे।
तपाईको प्रतिक्रिया