परराष्ट्रमन्त्री खनाल अर्को साता चीन भ्रमणमा जाने, यस्तो छ कार्यक्रम
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी साता चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने उक्त भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्म सञ्चालन हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने, आपसी सहयोग विस्तार गर्ने तथा साझा हितका विविध विषयमा छलफल हुने बताइएको छ।
भ्रमण अवधिमा मन्त्री खनालले चीनका अन्य उच्च तहका अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यसै क्रममा बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्ने विषयमा आफ्नो धारणा राख्नेछन्। सम्मेलनमा चिनियाँ व्यवसायीहरूसँग प्रत्यक्ष अन्तर्क्रिया गर्ने कार्यक्रम समेत तय गरिएको छ।
त्यस्तै, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत कार्यक्रममा सहभागी हुनुका साथै उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा संवाद गर्नेछन्।
परराष्ट्रमन्त्री खनाल असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
तपाईको प्रतिक्रिया