शुक्रबार २९ जेठ २०८३
राजनीति

मन नपरेको खण्डमा सरकार नै फाल्न पाइने अधिकार संसद्ले राख्छ : अर्थमन्त्री

शुक्रबार जेठ २९, २०८३/ Friday 06-12-26

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद् नै सरकार गठन गर्ने र आवश्यक परे सरकार हटाउने अधिकार भएको सर्वोच्च निकाय रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यस्तो धारणा राखेका हुन्।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले बजेट कार्यान्वयनका क्रममा संसद्ले स्वीकृत गरेको बजेटमाथिको नियन्त्रण कार्यपालिकातर्फ केन्द्रित हुने व्यवस्था रहेको भन्दै प्रश्न उठाएकी थिइन्।

जवाफमा अर्थमन्त्री वाग्लेले संसद्को सार्वभौमिक भूमिकालाई स्मरण गराउँदै सरकारको अस्तित्व नै संसद्को विश्वासमा आधारित हुने बताए। उनले संसद्ले चाहे सरकार गठन गर्न र आवश्यक ठाने सरकार परिवर्तन गर्न सक्ने अधिकार राख्ने उल्लेख गरे।

“प्रधानमन्त्री चयन गर्ने र सरकारलाई निरन्तरता दिने वा हटाउने अधिकार यही सदनसँग छ,” उनले भने।

उनले संसदीय व्यवस्थामा सरकारको स्थायित्व र परिवर्तन राजनीतिक अंकगणित तथा बहुमतको समीकरणमा निर्भर रहने पनि बताए।

तपाईको प्रतिक्रिया