प्रधानमन्त्री बालेन र रविले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति
काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बैठक कक्षभित्रको हिँडाइलाई लिएर नियमापत्ति उठाइएको छ।
बैठकका क्रममा राप्रपाकी सांसद खुश्बु ओली रोस्ट्रमबाट आफ्नो धारणा राखिरहेकी थिइन्। सोही समयमा प्रधानमन्त्री शाह र लामिछाने बैठक कक्षमा प्रवेश गरेका थिए। उनीहरू सभामुखको आसन र बोलिरहेका सांसदको बीचको भाग हुँदै आफ्नो सिटतर्फ गएको भन्दै एमालेका प्रमुख सचेतक ऐन महरले आपत्ति जनाएका हुन्।
महरले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) उल्लेख गर्दै बैठक सञ्चालन भइरहेका बेला सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट आवतजावत गर्न नहुने व्यवस्था रहेको स्मरण गराए। उनले उक्त व्यवस्थाविपरीत आचरण भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए।
संसदीय अभ्यासमा बैठक सञ्चालन भइरहेका बेला निर्धारित अनुशासन र मर्यादा पालना गर्नुपर्ने व्यवस्था रहेको छ। यस घटनापछि प्रतिनिधिसभा बैठकमै संसदीय नियम र आचरणको पालनाबारे प्रश्न उठेको छ।
यस विषयमा प्रधानमन्त्री शाह वा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कुनै सार्वजनिक प्रतिक्रिया भने हालसम्म आएको छैन।
तपाईको प्रतिक्रिया