काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दै गएको उल्लेख गर्दै विपद् व्यवस्थापनका लागि प्रभावकारी पूर्वतयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले सम्भावित प्राकृतिक विपद्बाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि पूर्वतयारी, उद्धार र राहतका सबै संयन्त्रलाई समयमै सक्रिय बनाउन सरकारलाई आग्रह गरे।
सभामुख अर्यालले मनसुन सुरु भएयता विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानका घटना देखिन थालेको उल्लेख गर्दै विपद्को प्रभाव कम गर्न सम्बन्धित निकायले समन्वयात्मक र प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले विपद्का बेला प्रभावित नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, राहत तथा उद्धार कार्यलाई छिटो र व्यवस्थित बनाउन तथा सडक र यातायात सेवा सुरक्षित एवं निर्बाध रूपमा सञ्चालन हुने वातावरण तयार गर्न सरकारसँग आग्रह गरे।
बैठकमा उनले मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै आवश्यक तयारीमा कुनै कमी हुन नदिन सरकारलाई सचेत गराउँदै बाढी, पहिरो र डुबानबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि सबै सरोकारवाला निकायलाई सक्रिय हुन आह्वान गरेका थिए।
पछिल्ला केही दिनयता प्रतिनिधिसभाका सांसदहरूले पनि मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको भन्दै सरकारलाई समयमै आवश्यक तयारी, राहत र उद्धारका संयन्त्रलाई सुदृढ बनाउन निरन्तर आग्रह गर्दै आएका छन्।
तपाईको प्रतिक्रिया