आज सुर्तीजन्य पदार्थविरुद्धको दिवस : नेपालमा वार्षिक ३९ हजार जनाले ज्यान गुमाउँदै
काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस नेपालसहित विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण प्रत्येक वर्ष करिब ३९ हजार जनाले ज्यान गुमाउने गरेका छन्। विश्वभर भने सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या १ अर्ब ३० करोडभन्दा बढी रहेको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अनुसार सुर्तीजन्य पदार्थका कारण हरेक वर्ष विश्वभर ८० लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ। मे ३१ मा मनाइने यस दिवसको उद्देश्य सुर्तीजन्य पदार्थबाट हुने स्वास्थ्य जोखिमबारे जनचेतना फैलाउनु, स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नु तथा भावी पुस्तालाई यसको नकारात्मक प्रभावबाट जोगाउनु हो।
यस वर्ष डब्ल्यूएचओले विशेषगरी किशोर तथा युवामाझ विद्युतीय चुरोट (ई–सिगरेट) र निकोटिनयुक्त उत्पादनको बढ्दो प्रयोगप्रति चिन्ता व्यक्त गरेको छ। स्वादयुक्त ई–सिगरेट, निकोटिन पाउच तथा अन्य निकोटिनजन्य उत्पादनमार्फत युवालाई आकर्षित गरी लत बसाल्ने प्रयास भइरहेको सङ्गठनको भनाइ छ।
डब्ल्यूएचओले निकोटिन अत्यधिक लत लाग्ने र स्वास्थ्यका लागि हानिकारक पदार्थ भएकाले बालबालिका, किशोर तथा युवाको शारीरिक तथा मानसिक विकासमा गम्भीर असर पार्न सक्ने जनाएको छ। त्यसैले स्वादयुक्त निकोटिनजन्य उत्पादनमाथि प्रतिबन्ध लगाउन, विज्ञापन तथा प्रवर्द्धन रोक्न, सार्वजनिक स्थानलाई पूर्ण धूमपान तथा भेप–मुक्त क्षेत्र घोषणा गर्न र कानुनी कार्यान्वयनलाई प्रभावकारी बनाउन सरकारहरूलाई आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया