बिहीबार ३२ असार २०८३
राजनीति

सुदूरपश्‍चिमका मुख्यमन्त्रीले गरे एमालेका चार मन्त्रीलाई बर्खास्त

बुधबार असार ३१, २०८३/ Wednesday 07-15-26

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले)का चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्। पदबाट हटाइएकामा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा तथा भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मलादेवी साउद रहेका छन्।

प्रदेश सरकारको बजेटलाई लिएर कांग्रेस र एमालेबीच लामो समयदेखि मतभेद बढ्दै गएको थियो। सरकारमै सहभागी रहे पनि एमालेले बजेटप्रति असन्तुष्टि जनाउँदै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको थियो। एमालेका प्रदेशसभा सदस्यहरूले बजेटविरुद्ध खर्च कटौतीको प्रस्तावसमेत प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए।

एमालेका मन्त्रीहरूको बर्खास्तीसँगै सुदूरपश्चिम प्रदेश सरकार नयाँ राजनीतिक समीकरणअनुसार पुनर्गठन हुने तयारीमा पुगेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकार पुनर्गठनबारे आवश्यक छलफल अघि बढाइएको जनाएको छ।

बजेट पारित हुन दुई दिन मात्र बाँकी रहँदा उत्पन्न विवाद केन्द्रसम्म पुगेको थियो। यही विषयमा छलफल गर्न मुख्यमन्त्री शाह सोमबार काठमाडौं आएका थिए। उनले कांग्रेसका शीर्ष नेताहरूसँग भेट गर्दै बजेटमा देखिएको विवाद र एमालेसँग विकसित राजनीतिक परिस्थितिबारे जानकारी गराएका थिए।

काठमाडौंमा भएको छलफलका क्रममा मुख्यमन्त्री शाहले कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा तथा महामन्त्री प्रदीप पौडेललगायत नेताहरूसँग बजेटको अवस्था र प्रदेश सरकारको पछिल्लो राजनीतिक घटनाक्रमबारे विमर्श गरेका थिए।

बजेट विनियोजनमा कांग्रेसले एकलौटी गरेको आरोप एमालेले लगाउँदै आएको छ। यद्यपि मुख्यमन्त्री शाहले एमाले नेतृत्वमा रहेका मन्त्रालयहरूलाई समेत पर्याप्त बजेट छुट्याइएको दाबी गर्दै आएका छन्।

यसअघि एमाले संसदीय दलले बजेट अस्वीकार गर्ने औपचारिक निर्णय गरिसकेको थियो। त्यसपछि सरकारमै रहेर पनि एमालेले खर्च कटौतीको प्रस्ताव दर्ता गरेसँगै सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित हुने प्रक्रिया थप अनिश्चित बनेको छ।

तपाईको प्रतिक्रिया