काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि अवस्था अत्यन्तै चिन्ताजनक बनेको छ। अन्तर्राष्ट्रिय चिकित्सा सहायता संस्था ‘डाक्टर विदाउट बोर्डर्स’ (एमएसएफ) ले महामारी घोषणा भएको दुई सातामै ठूलो संख्यामा संक्रमित भेटिनु अभूतपूर्व रहेको जनाएको छ।
एमएसएफका उपनिर्देशक डा. एलन गोन्जालेसका अनुसार महामारी घोषणा भएयता संक्रमणको दायरा तीव्र रूपमा विस्तार भइरहेको छ र वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। दैनिक नयाँ शंकास्पद बिरामी थपिँदै गएका छन् भने सयौं नमुनाको परीक्षण अझै बाँकी रहेको बताइएको छ।
हाल कंगोमा इबोलाका शंकास्पद संक्रमितको संख्या एक हजार नाघिसकेको छ। संक्रमणका कारण कम्तीमा २४६ जनाको मृत्यु भइसकेको छ। छिमेकी युगान्डामा पनि नौ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ।
संक्रमण नियन्त्रणका प्रयासलाई सीमा नाकाहरू र विमानस्थल बन्द हुनुका साथै कंगोमा जारी सशस्त्र द्वन्द्वले समेत प्रभावित बनाएको छ। स्वास्थ्यकर्मीहरूलाई प्रभावित क्षेत्रमा पुग्न तथा आवश्यक सामग्री ढुवानी गर्न कठिनाइ भइरहेको जनाइएको छ।
यसैबीच, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले सबैभन्दा प्रभावित इटुरी प्रान्तको भ्रमण गर्दै स्थानीय समुदायलाई महामारी नियन्त्रणमा सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। उनले इबोलाबाट मृत्यु भएका व्यक्तिको शवसँग प्रत्यक्ष सम्पर्क गर्दा संक्रमण थप फैलिन सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरे।
इटुरीको राजधानी बुनियाँमा स्वास्थ्य सचेतना अभियान तीव्र पारिएको छ। विमानस्थलमा यात्रुका लागि हात धुने व्यवस्था अनिवार्य गरिएको छ भने रेडियो तथा टेलिभिजनमार्फत स्थानीय भाषासहित फ्रेन्च भाषामा जनचेतनामूलक सन्देश प्रसारण भइरहेका छन्।
विश्व स्वास्थ्य संगठन प्रमुखले बुनियाँस्थित राष्ट्रिय जैविक चिकित्सा अनुसन्धान प्रयोगशालाको निरीक्षणसमेत गरेका छन्। उक्त प्रयोगशालामा अहिले २४ घण्टाभित्र परीक्षणको नतिजा उपलब्ध हुने व्यवस्था गरिएको छ, जसले संक्रमितको छिटो पहिचान र उपचारमा सहयोग पुर्याएको छ।
यसबीच, ब्राजिलको साओ पाउलोमा पनि कंगोबाट फर्किएका ३७ वर्षीय एक पुरुषलाई इबोला संक्रमणको आशंकामा आइसोलेसनमा राखिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार हाल फैलिरहेको ‘बुन्डिबुग्यो’ नामक दुर्लभ इबोला स्ट्रेनको प्रमाणित खोप उपलब्ध छैन। यो भाइरस संक्रमित व्यक्तिको रगत, र्याल, पसिना, पिसाब, बान्ता तथा अन्य शारीरिक तरल पदार्थको सम्पर्कबाट सर्ने गर्दछ र संक्रमितमध्ये करिब एक तिहाइको मृत्यु हुन सक्ने जोखिम रहेको बताइएको छ।
तपाईको प्रतिक्रिया