आइतबार १७ जेठ २०८३
खेलकुद

कुशलले प्रहार गरे ६ बलमा ६ छक्का, नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका छैटौं खेलाडी बने कुशल भुर्तेल
आइतबार जेठ १७, २०८३/ Sunday 05-31-26

काठमाडौँ । एसियन गेम्स छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ। सिंगापुरमा जारी खेलमा टस जितेर चीनले पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाउँदै ३१३ रनको कीर्तिमानी योगफल तयार पारेको हो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेलले ऐतिहासिक प्रदर्शन गर्दै ४३ बलमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। उनले १६ छक्का प्रहार गर्ने क्रममा एक ओभरमा लगातार ६ बलमा ६ छक्का हानेर नयाँ कीर्तिमानसमेत बनाए। भुर्तेलको आक्रामक ब्याटिङले चीनका बलरहरू दबाबमा परेका थिए।

नेपालका लागि कुशल मल्ल र कप्तान रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे। मल्लले ४७ बलमा आठ चौका र पाँच छक्काको मद्दतमा ८५ रन बनाए भने कप्तान पौडेलले मात्र २१ बलमा सात छक्का र पाँच चौका प्रहार गर्दै अविजित ६९ रन जोडे। ओपनर आशिफ शेख भने १० बलमा ११ रन बनाएर आउट भएका थिए। चीनका तर्फबाट मा क्वानचेङ र देङ जिनकीले एक–एक विकेट लिए पनि अन्य बलरहरू नेपाली ब्याटरहरूको आक्रामक प्रहार रोक्न असफल रहे। नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चीनमाथि सुरुदेखि नै ठूलो दबाब परेको छ।

 

तपाईको प्रतिक्रिया