आइतबार १७ जेठ २०८३
खेलकुद

नेपालको शानदार सुरुवात, कुशलको विस्फोटक शतकमा चीन २२१ रनले पराजित

आइतबार जेठ १७, २०८३/ Sunday 05-31-26

काठमाडौँ । एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको छ । सिंगापुरमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले विशाल योगफल खडा गर्दै सहज जित हात पारेको हो ।

पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा ३१३ रन बनायो र चीनलाई जितका लागि ३१४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको चीन १९ ओभर २ बलमा मात्र ९२ रनमै अलआउट भयो ।

नेपालका ओपनर कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा १२९ रनको शतकीय पारी खेले । उनले १६ छक्का प्रहार गर्दै चीनको बलिङ आक्रमण ध्वस्त बनाएका थिए ।

त्यस्तै कप्तान रोहित पौडेल र कुशल मल्लले पनि आक्रामक ब्याटिङ गर्दै महत्वपूर्ण अर्धशतक बनाए । मल्लले ४७ बलमा ८५ रन (५ छक्का, ८ चौका) बनाए भने कप्तान पौडेलले मात्र २१ बलमा ६९ रन (७ छक्का, ५ चौका) को विस्फोटक पारी खेले ।

ओपनर आसिफ शेख १० बलमा ११ रन बनाएर आउट भए । चीनका बलर मा क्वानचेङ र देङ जिनकीले एक–एक विकेट लिए ।

चीनका लागि ब्याटिङमा शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए भने डु जिनहाउले १७ र टियान सेनकुनले १२ रन जोडे । अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन् ।

बलिङतर्फ नेपालका लागि कुशल मल्लले ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट हात पारे भने नन्दन यादवले १ विकेट लिए ।

नेपालले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको पहिलो खेलमै प्रभावशाली जित दर्ता गरेको हो।

 

तपाईको प्रतिक्रिया