आइतबार १७ जेठ २०८३
अर्थ

सुनको मूल्य तोलामा २० हजार ५०० ले बढ्यो

आइतबार जेठ १७, २०८३/ Sunday 05-31-26

काठमाडौँ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। सुनको भाउ तोलामा २० हजार ५०० रुपैयाँले बढ्दै ऐतिहासिक रूपमा उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आइतबार सुनको मूल्य तोलाको ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलाको २ लाख ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। छोटो समयमै भएको यो ठूलो मूल्य वृद्धिले उपभोक्ता र बजार दुवै प्रभावित भएका छन्।

महासङ्घले सुनको मूल्यमा आएको तीव्र वृद्धिको मुख्य कारण सरकारले हालै सुनमा भन्सार दर १० प्रतिशतले वृद्धि गर्नु रहेको जनाएको छ। भन्सार शुल्क बढेपछि आयात लागत बढ्दा त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ।

त्यस्तै, सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ३०५ रुपैयाँले वृद्धि भई तोलाको ५ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी तोलाको ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।

लगातार मूल्य वृद्धि भइरहेकाले आगामी दिनमा सुनचाँदी बजार अझै अस्थिर हुन सक्ने अनुमान व्यवसायीहरूले गरेका छन्। उपभोक्ताको माग घट्ने सम्भावना पनि देखिएको छ भने विवाह–ब्रतबन्ध जस्ता मौसमी खरिदमा समेत प्रभाव पर्न सक्ने बताइएको छ।

 

तपाईको प्रतिक्रिया