३५ वर्षमा समाधान नभएको सुकुमवासी समस्याको समाधान ३५ मिनेटमा नखोजौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सुकुमवासीको उचित व्यवस्थापन र पुनःस्थापनाका लागि आवश्यक कदम चालिने बताएका हुन्।
प्रधानमन्त्री शाहका अनुसार वास्तविक सुकुमवासीहरूको पहिचान गरी उनीहरूलाई बसोबासका लागि आवश्यक जग्गाको व्यवस्था गर्नुपर्ने विषय आफूले स्थानीय तहमा रहँदादेखि नै संघीय सरकारसमक्ष उठाउँदै आएका थिए। उनले अस्थायी रूपमा सुरक्षित स्थान वा होल्डिङ सेन्टरमा राखेर वास्तविक भूमिहीन नागरिकहरूको व्यवस्थापन गर्नुपर्ने धारणा दोहोर्याए।
उनले सुकुमवासी समस्या दशकौँदेखि जटिल बन्दै आएको उल्लेख गर्दै तत्कालै पूर्ण समाधानको अपेक्षा नगर्न आग्रह गरे। “३५ वर्षदेखि समाधान हुन नसकेको विषय ३५ मिनेटमा टुंगो लाग्दैन,” उनले भने, “यसका लागि केही समय र व्यवस्थित प्रक्रिया आवश्यक हुन्छ।”
प्रधानमन्त्री शाहले विगतमा नदी तथा खोला किनारमा बसोबास गर्ने सुकुमवासीहरू बाढी, डुबान र विभिन्न स्वास्थ्य समस्याको जोखिममा रहेको उल्लेख गरे। उनीहरूको बसोबास क्षेत्रको सरसफाइ तथा ढल निकासको अवस्था कमजोर भएकाले सरकारले तत्काल हस्तक्षेप गरेर जोखिम न्यूनीकरणको प्रयास गरेको उनले बताए।
यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पनि चालु आर्थिक वर्षभित्र सुकुमवासी व्यवस्थापनका लागि ठोस काम अघि बढाइने जानकारी दिएका छन्। प्रधानमन्त्री शाहका अनुसार भूमिसम्बन्धी समिति गठन भइसकेको छ र सम्बन्धित मन्त्रालयहरूले आवश्यक तयारी गरिरहेका छन्।
तपाईको प्रतिक्रिया