शनिबार ३० जेठ २०८३
राजनीति

रास्वपा बागमती सभापतिमा चार उम्मेदवार मैदानमा

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा रोचक बनेको छ। प्रदेश सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन समितिका अनुसार सभापति पदका लागि डा. अच्युतम लामिछाने (काठमाडौं), हरिबहादुर खत्री (रामेछाप), कृष्णमान श्रेष्ठ (काठमाडौं) र उत्सव अर्याल (मकवानपुर) मैदानमा उत्रिएका छन्।

उम्मेदवारमध्ये डा. लामिछाने प्रतिनिधिसभा सदस्यसमेत हुन्। उनी यसअघि रास्वपा बागमती प्रदेश समितिको सभापतिको जिम्मेवारीमा रहेका थिए। यस्तै, मकवानपुरका उत्सव अर्याल प्रदेश समितिको प्रवक्ताका रूपमा सक्रिय थिए।

निर्वाचन कार्यतालिकाअनुसार मंगलबार नै मतदानमार्फत नयाँ समिति चयन गर्ने तयारी भए पनि उम्मेदवारहरूको अन्तिम नामावली टुंगो लगाउन ढिलाइ भएपछि निर्वाचन प्रक्रिया प्रभावित भएको छ। निर्वाचन समिति संयोजक सुमित्रा पण्डितका अनुसार उम्मेदवारहरूको अन्तिम सूची राति अबेरसम्म तय गरिएकाले निर्धारित तालिका केही पछि सरेको हो।

हाल अधिवेशन स्थलमा समिति गठन र निर्वाचन प्रक्रियासम्बन्धी विषयमा छलफल जारी रहेको समितिले जनाएको छ।

रास्वपा बागमती प्रदेश अधिवेशन कार्यविधि–२०८३ अनुसार ६५ सदस्यीय प्रदेश समिति गठन गरिनेछ। समितिमा एक सभापति, एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता तथा अन्य सदस्य रहने व्यवस्था छ।

कार्यविधिअनुसार दुई सहमहामन्त्रीमध्ये एक महिला र एक पुरुष अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ। प्रदेश समिति चयनका लागि दुई चरणमा निर्वाचन हुने व्यवस्था गरिएको छ। पहिलो चरणमा सभापति र प्रदेश सदस्यहरूको निर्वाचन हुनेछ भने दोस्रो चरणमा निर्वाचित सदस्यहरूमध्येबाट पदाधिकारी चयन गरिनेछ।

 

तपाईको प्रतिक्रिया