शनिबार ३० जेठ २०८३
समाज

काभ्रे बस दुर्घटनामा मृत्यु हुने ८ जनाको सनाखत, १७ घाइतेको उपचार हुँदै

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौं । काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबै ८ जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार दुर्घटनामा सिन्धुलीको घ्यालेख गाउँपालिका–४ की २२ वर्षीया सूर्म लामा, नेपाली सेनामा अमल्दार पदमा कार्यरत दैलेखका ३० वर्षीय बमबहादुर भण्डारी, रोशी गाउँपालिका–६ का ७३ वर्षीय मेघबहादुर तामाङ र ७५ वर्षीय इन्द्रबहादुर तामाङको मृत्यु भएको छ।

यस्तै रोशी–६ का ५५ वर्षीय राजु तामाङ, रोशी–७ की ३४ वर्षीया फूलमाया तामाङ, ६० वर्षीया माया लामा तथा रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङले पनि दुर्घटनामा ज्यान गुमाएका छन्।

बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुघुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गअन्तर्गत नमोबुद्ध क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

तपाईको प्रतिक्रिया