शनिबार ३० जेठ २०८३
समाज

जेनजी आन्दोलनका बेला नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौँ।  जेनजी आन्दोलनका क्रममा ललितपुरस्थित नक्खु कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–८ निवासी ४४ वर्षीय सुनिल श्रेष्ठ रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९, मुढेबाट पक्राउ गरेको हो।

डाँका चोरी मुद्दामा पाँच वर्षको कैद सजाय भुक्तान गरिरहेका श्रेष्ठ जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा खोजी तीव्र बनाएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार पक्राउ परेका श्रेष्ठलाई थप कानुनी प्रक्रिया पूरा गरी पुनः नक्खु कारागार चलान गरिएको छ।

 

तपाईको प्रतिक्रिया