शनिबार ३० जेठ २०८३
राजनीति

रास्वपा बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ।

शनिबार बिहान ११ बजेबाट मतदान सुरु हुने भनिए पनि केही ढिलाइपछि प्रक्रिया अघि बढाइएको हो। अधिवेशनमा करिब १,३०० प्रतिनिधिहरू सहभागी छन्। समायोजन प्रक्रियामा विवादित रहेका करिब ४०० प्रतिनिधिमध्ये २१० जनालाई मतदानको अधिकार दिइएको छ।

निर्वाचनका लागि विद्युतीय मतदान प्रणाली प्रयोग गरिएको छ भने कुल १५ वटा मतदान बुथ स्थापना गरिएको छ। पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्य चयन गरिनेछ भने त्यसपछि पदाधिकारी चयनका लागि मतदान हुने बताइएको छ।

प्रदेश सभापतिका लागि डा. अच्युतम लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्। पार्टी स्रोतका अनुसार मुख्य प्रतिस्पर्धा भने वर्तमान सभापति डा. लामिछाने र प्रवक्ता उत्सव अर्यालबीच हुने देखिएको छ।

नेताहरूका अनुसार दुवै प्रमुख प्रतिस्पर्धीले आ–आफ्नो अघोषित प्यानल बनाएर चुनावी अभियान अघि बढाएका छन्।

पार्टी संरचना अनुसार सभापति, उपसभापति, महामन्त्री र दुई सहमहामन्त्री (विभिन्न लिङ्ग समावेश गरी) निर्वाचनमार्फत चयन गरिनेछ। प्रवक्ता र कोषाध्यक्ष भने मनोनयनबाट चयन हुने व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया