शनिबार ३० जेठ २०८३
राजनीति

प्रतिनिधिसभा बैठक आज बस्दै, बजेटमाथि उठेका प्रश्नमा अर्थमन्त्रीले जवाफ दिने

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाडौँ। संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ। तर प्रधानमन्त्री वालेन्द्र शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले जारी राखेको विरोधका कारण बैठक पुनः अवरुद्ध हुने सम्भावना देखिएको छ।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदको रोष्ट्रमबाट सार्वजनिक रूपमा माफी नमागेसम्म संसद सञ्चालन हुन नदिने अडान कायम राखेका छन्। यही विवादका कारण संसद लामो समयदेखि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन।

आजको सम्भावित कार्यसूचीअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम रहेको छ।

त्यसपछि अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। प्रस्ताव प्रस्तुत भएपछि बजेटमाथिको सामान्य छलफल सुरु हुने कार्यसूची छ।

बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने, कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको मनोनयनबारे जानकारी गराउने तथा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नआएको जानकारी सभालाई गराउने कार्यक्रम छ।

त्यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘चलचित्र विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

 

तपाईको प्रतिक्रिया