बुधबार २७ जेठ २०८३
समाज

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण पेश गर्ने समयसीमा असार मसान्तसम्मका लागि थप गरेको छ। यसअघि जेठ मसान्तभित्र विवरण बुझाउनुपर्ने व्यवस्था रहे पनि विभिन्न कारण देखाउँदै सम्बन्धित पदाधिकारीहरूले थप समय मागेपछि आयोगले म्याद लम्ब्याउने निर्णय गरेको हो।

आयोगका अध्यक्ष राजेन्द्र भण्डारीका अनुसार विवरण बुझाउनुपर्ने केही व्यक्ति विदेशमा रहेका छन् भने कतिपयले आवश्यक कागजात संकलन गर्न समय लागेको जानकारी गराएका थिए। सोही आधारमा अन्तिम पटकका लागि असार मसान्तसम्मको समय दिइएको उनले बताए।

आयोगले गत जेठ १ गते पूर्वप्रधानमन्त्रीदेखि सहसचिव तहसम्मका पदाधिकारीहरूलाई आफ्नो सम्पत्ति विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको थियो। प्रारम्भिक सूचनाअनुसार जेठ मसान्तभित्र विवरण बुझाइसक्नुपर्ने व्यवस्था गरिएको थियो।

तर निर्धारित म्याद सकिन तीन दिन मात्र बाँकी रहँदा करिब ३ हजार ५०० जनाले मात्रै सम्पत्ति विवरण बुझाएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता गणेश केसीले विवरण बुझाउनेको चाप बढ्दै गएको र प्रक्रियालाई सहज बनाउन समय थप गरिएको जानकारी दिए। उनले हालसम्म प्राप्त विवरणहरूको प्रारम्भिक अध्ययन तथा जाँचबुझको तयारीसमेत सुरु गरिएको बताए।

आयोगले थपिएको समयसीमाभित्र सम्पत्ति विवरण पेश गरी कानुनी दायित्व पूरा गर्न सम्बन्धित सबै पदाधिकारीलाई आग्रह गरेको छ।

 

तपाईको प्रतिक्रिया