प्रधानमन्त्रीले गरेको गल्ती अरूले सच्याउन मिल्दैन– हर्क सम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाह स्वयं प्रतिनिधि सभामा उपस्थित भएर आफ्नो भनाइबारे स्पष्टिकरण दिनुपर्ने माग गरेका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री पदलाई पूर्ण रूपमा जवाफदेही बनाइनुपर्ने भन्दै कुनै एक व्यक्तिले गरेको भनाइको स्पष्टीकरण अरू मन्त्रीमार्फत आउनु उचित नहुने तर्क गरे । लोकतन्त्रको आधारभूत मूल्य नै उत्तरदायित्व भएकाले प्रधानमन्त्री आफैं उपस्थित हुनुपर्ने उनको जोड थियो ।
उनले प्रधानमन्त्रीको भनिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्रीमार्फत स्पष्टीकरण आउने कुरा स्वीकार्य नभएको उल्लेख गर्दै त्यसप्रति आफ्नो पार्टीको असहमति रहेको बताए । “प्रधानमन्त्रीले दिएको भनाइको जवाफ उहाँ आफैंले दिनुपर्छ, अरूले सच्याउने कुरा न्यायसंगत र संविधानसम्मत हुँदैन,” उनले भने ।
साम्पाङले संसदलाई विधिसम्मत रूपमा सञ्चालन गर्नुपर्ने भन्दै प्रधानमन्त्रीको भूमिका र जिम्मेवारीबारे गम्भीर प्रश्न उठाए । सम्बन्धित व्यक्तिले नै आफ्नो धारणा स्पष्ट पार्नुपर्ने उनको अडान थियो ।
उनले आवश्यक परे प्रधानमन्त्रीले संसदमा आएर वा लिखित रूपमा भए पनि आफ्नो धारणा स्पष्ट पार्नुपर्ने बताए । परराष्ट्रमन्त्रीले मात्र व्याख्या गर्ने प्रक्रिया उचित नहुने उनको भनाइ थियो ।
साम्पाङका अनुसार विगतका आन्दोलनहरूले पनि प्रधानमन्त्री पद संसदप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्छ भन्ने मान्यतालाई स्थापित गरेका छन् ।
तपाईको प्रतिक्रिया