काठमाडौँ ।संसद्मा देखिएको अवरोध अन्त्य गर्ने प्रयासस्वरूप सभामुख डीपी अर्यालले विपक्षी दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन्। बुधबार संसद् भवनस्थित आफ्नो कार्यकक्षमा उनले प्रमुख प्रतिपक्षी दलका नेता, विभिन्न दलका संसदीय नेता, सचेतक तथा प्रमुख सचेतकहरूसँग संवाद गरेका हुन्।
छलफलमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले संसद्मा उठेको विवादबारे स्पष्टीकरण दिने विषयमा केन्द्रित छलफल भइरहेको बताइएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले जेठ १७ गते संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे सरकारले परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावमा केही दल सकारात्मक देखिएका छन्।
छलफलमा सहभागी नेताहरूका अनुसार नेपाली कांग्रेस, नेकपा र राप्रपा लगायत दलहरू परराष्ट्रमन्त्रीमार्फत जवाफ आउन सक्ने विषयमा लचक देखिए पनि नेकपा एमाले भने प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो धारणा स्पष्ट पार्नुपर्ने अडानमा छ।
राप्रपा सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्रीको धारणा सुनेपछि अन्य दलहरूले आफ्ना कुरा राख्ने विषयमा छलफल भइरहेको जानकारी दिइन्। यता एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले भने प्रधानमन्त्रीको अभिव्यक्ति भएकाले उहाँ स्वयं वा उहाँकै तहबाट स्पष्ट जवाफ आउनुपर्ने आफ्नो पार्टीको माग रहेको बताए।
प्रधानमन्त्री शाहले जेठ १७ गते संसद्मा भारत–नेपाल सीमासम्बन्धी दिएको अभिव्यक्तिले विवाद उत्पन्न गरेको थियो। त्यसयता जेठ १९ गतेदेखि प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठक नियमित रूपमा अवरुद्ध हुँदै आएका छन्। प्रधानमन्त्रीले हालसम्म उक्त विषयमा संसद्मा उपस्थित भएर जवाफ दिने स्पष्ट संकेत गरेका छैनन्।
संसद् अवरोध हटाउने उद्देश्यले यसअघि रास्वपा सभापति रवि लामिछानेले पनि विपक्षी दलका नेताहरूसँग छलफल गरेका थिए, तर त्यसबेला सहमति जुट्न सकेको थिएन।
बुधबारका लागि बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक पछि २ बजेसम्म सारिए पनि निर्धारित समयमा सुरु हुन नसकेको संसद् सचिवालयले जनाएको छ।
तपाईको प्रतिक्रिया