बुधबार २७ जेठ २०८३
राजनीति

कांग्रेस इतर समूहका युवाद्वारा बृहत् भेला आह्वान

बुधबार जेठ २७, २०८३/ Wednesday 06-10-26

काठमाडौँ । नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहका युवा नेताहरूले पाँच बुँदे एजेन्डासहित ‘बृहत् युवा भेला’ आयोजना गर्ने भएका छन् । पार्टीको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयमा छलफल गर्न उनीहरूले जेठ ३० गते सुकेधारास्थित दवदुर्गा पार्टी भेन्युमा भेला गर्न लागेका हुन् ।

युवा नेता भुपेन्द्रजंग शाहीका अनुसार भेलाका लागि पाँच प्रमुख एजेन्डा तय गरिएको छ । जसमा फर्जी विशेष महाधिवेशनमार्फत गठन गरिएको समितिलाई खारेज गर्ने, भातृ संस्थामा गरिएको टिका नियुक्ति बदर गरी निर्वाचन प्रक्रियामार्फत अधिवेशन गराउने, क्रियाशील सदस्यता अद्यावधिकका नाममा भएको अनियमितता रोक्ने र पहिले नवीकरण भइसकेका सदस्यताको मान्यता सुनिश्चित गर्ने विषय समावेश छन् ।

त्यस्तै, आगामी भदौभित्रै पार्टीको महाधिवेशन सम्पन्न गर्नुपर्ने र पार्टी नेतृत्व तथा जिम्मेवारी युवापुस्तामा हस्तान्तरण गर्नुपर्ने माग पनि एजेन्डामा समेटिएको छ ।

भेलामा पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला निकट युवा नेताहरूको समेत सहभागिता रहने बताइएको छ ।

शाही, ध्रमेन्द्र नेम्वाङ, खगेन्द्र मल्ल, दीपक भट्टराई, मनोहरि श्रेष्ठ, दुजाङ शेर्पा, प्रेमिका राना, सागर परियार, रिता शाही, मैना कार्की र चन्दा जोशी लगायतका नेताहरूले भेला आयोजना गरेका हुन् । विशेष महाधिवेशनको विपक्षमा रहेका सबै युवा नेताहरूको उपस्थिति रहने आयोजकहरूले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया