रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत जारी निर्वाचन प्रक्रिया प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा गर्न अस्थायी रूपमा स्थगित गरिएको छ।
पार्टीको केन्द्रीय निर्वाचन आयोगले बुधबार जारी गरेको सूचनामा निर्वाचन रद्द नभई केही समयका लागि मात्रै रोकिएको स्पष्ट पारेको छ। अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएपछि केही प्रतिनिधि मतदानस्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर चासो व्यक्त गरेको छ।
मंगलबारदेखि सुरु भएको निर्वाचन कार्यक्रम यसअघि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको थियो। आयोगका अनुसार मतपत्र र मतदाता नामावलीमा देखिएका केही त्रुटि सुधार गर्न, मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण सम्पन्न गर्न तथा करिब ४०० जनाको समायोजन सूचीसँग सम्बन्धित उजुरी र विवादहरूको समाधान गर्न निर्वाचन प्रक्रिया रोकिएको हो।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी मतदान प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार भ्रमका कारण मतदानस्थलबाट फर्किएका प्रतिनिधिहरूलाई पुनः मतदानमा सहभागी हुन पर्याप्त समय उपलब्ध गराइनेछ। आयोगले सबै प्रतिनिधिलाई आधिकारिक सूचनामा मात्र विश्वास गर्न र निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ।
तपाईको प्रतिक्रिया