फिफा विश्वकप–२०२६ : अमेरिकाको विजयी सुरुवात, पाराग्वेमाथि ४–१ को शानदार जित
काठमाडौं। आयोजक अमेरिकाले फिफा विश्वकप–२०२६ मा प्रभावशाली सुरुवात गरेको छ। लस एन्जलसस्थित स्टेडियममा आज बिहान सम्पन्न उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गरेको हो।
अमेरिकाको जितमा फोलारिन बालोगुनले दुई गोल गरे भने जियोभानी रेयनाले एक गोल थपे। अमेरिकाले एक गोल आत्मघाती उपहारका रूपमा प्राप्त गरेको थियो। पाराग्वेका लागि मौरिसियोले सान्त्वना गोल फर्काए।
खेलको सातौँ मिनेटमै अमेरिकाले अग्रता बनाएको थियो। वेस्टन म्याकेनीको प्रहार रोक्ने प्रयासमा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले बल आफ्नै पोस्टमा छिराएपछि अमेरिका १–० ले अघि बढ्यो।
त्यसपछि ३१औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्जुरी समयमा बालोगुनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३–० को सहज अवस्थामा पुर्याए।
पाराग्वेका मौरिसियोले ७१औँ मिनेटमा गोल गर्दै खेलमा फर्किने संकेत दिए पनि त्यो पर्याप्त हुन सकेन। दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा जियोभानी रेयनाले गोल गर्दै अमेरिकाको ४–१ को जित सुनिश्चित गरे।
यस जितसँगै अमेरिका समूह ‘डी’ को शीर्ष स्थानमा उक्लिएको छ। समूहमा अमेरिका, पाराग्वे, अस्ट्रेलिया र टर्की रहेका छन्।
यसअघि आजै सम्पन्न अर्को खेलमा क्यानडा र बोस्निया एण्ड हर्जगोभिनाले १–१ गोलको बराबरी खेलेका थिए।
तपाईको प्रतिक्रिया