‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैन : नेता लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा वाग्मती प्रदेश सभापति पदका उम्मेदवार डा. अच्युतम लामिछानेले पार्टीमा ‘एक व्यक्ति, एक पद’ को व्यवस्था लागू गर्न नहुने धारणा व्यक्त गरेका छन्। शनिबार आयोजित वाग्मती प्रदेश अधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो नीति लागू भए वर्तमान पदाधिकारी तथा जनप्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुने बताए।
उनका अनुसार पार्टीका सक्रिय र सक्षम नेताहरूलाई संगठनात्मक जिम्मेवारीबाट टाढा राख्ने व्यवस्था उचित हुँदैन। उनले जनप्रतिनिधित्वको आधार पार्टी संगठन नै भएकाले संगठन र प्रतिनिधित्वबीच सन्तुलन आवश्यक रहेको उल्लेख गरे।
लामिछानेले पार्टीभित्र विचार आदानप्रदान, बहस र राजनीतिक अभ्यासमार्फत नेतृत्व विकास हुने र त्यही नेतृत्व पछि निर्वाचनमार्फत जनप्रतिनिधिका रूपमा अघि बढ्ने बताए। आफू केवल पाँच वर्षका लागि सांसद बन्न राजनीति नगरेको भन्दै उनले पार्टीका विभिन्न जिम्मेवारीलाई राजनीतिक यात्राको क्रमिक उन्नतिको माध्यमका रूपमा लिनुपर्ने धारणा राखे।
रास्वपाभित्र सांसदहरूलाई प्रदेश सभापतिको जिम्मेवारी लिन नदिने विषयमा विवाद उत्पन्न भएपछि उनले असन्तुष्टि व्यक्त गरेका हुन्। ‘एक व्यक्ति, एक पद’ को अवधारणा कार्यान्वयन गर्ने विषयमा मतभेद बढेपछि यसअघि वाग्मती प्रदेश अधिवेशनसमेत स्थगित भएको थियो।
वाग्मती प्रदेश सभापति पदका लागि डा. अच्युतम लामिछानेसहित उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिस्पर्धामा छन्। लामिछाने हाल पनि प्रदेश सभापतिको जिम्मेवारीमा रहेका छन्।
तपाईको प्रतिक्रिया