आइतबार ३१ जेठ २०८३
राजनीति

विश्वकपमा आज ब्राजिल र मोरक्को भिड्दै, इतिहास रच्ने दाउमा दुवै टोली

शनिबार जेठ ३०, २०८३/ Saturday 06-13-26

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको बहुप्रतीक्षित खेलमा आइतबार फुटबल महाशक्ति ब्राजिल र अफ्रिकी चुनौतीकर्ता मोरक्को आमनेसामने हुँदैछन्। न्यु जर्सीस्थित मेटलाइफ रंगशालामा हुने खेल नेपाली समयअनुसार बिहान ३:४५ बजे सुरु हुनेछ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल विगतका निराशाजनक नतिजा बिर्सेर उपाधि यात्रालाई नयाँ उचाइ दिन चाहन्छ। कतार विश्वकपमा क्वार्टरफाइनलबाट बाहिरिएको ब्राजिल यसपटक गल्ती दोहोरिन नदिने लक्ष्यमा छ।

गत वर्ष ब्राजिलियन फुटबल महासंघले इटालियन प्रशिक्षक कार्लो एन्सिलोटीलाई टोलीको जिम्मेवारी दिएपछि नयाँ युगको सुरुआत भएको मानिएको छ। ब्राजिलको इतिहासमै पहिलो स्थायी विदेशी प्रशिक्षक बनेका एन्सिलोटीले विश्व फुटबलका लगभग सबै प्रमुख उपाधि जितिसकेका छन्।

विश्वकप इतिहासमा ब्राजिलले ११४ खेलमध्ये ७४ जित्दै पाँच पटक उपाधि जितेको छ। तर टोलीले सन् २००२ यता विश्वकप ट्रफी उचाल्न सकेको छैन। यसपटक प्रतियोगिता उत्तर अमेरिकामा भइरहेका कारण सन् १९९४ को सफलताको संयोग दोहोरिने आशा ब्राजिल समर्थकले गरेका छन्।

यता मोरक्को भने कतार विश्वकपको ऐतिहासिक प्रदर्शन दोहोर्याउने लक्ष्यमा छ। चार वर्षअघि सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेर इतिहास रचेको मोरक्को अहिले पनि प्रतियोगिताको बलियो ‘डार्क हर्स’का रूपमा हेरिएको छ।

सन् २०२३ यता मोरक्कोले खेलेका ४५ खेलमध्ये ३३ मा जित हासिल गरेको छ। उत्कृष्ट लयमा रहेको टोली हाल फिफा वरीयताको सातौं स्थानमा रहेको छ।

ब्राजिल र मोरक्कोबीच भएका पछिल्ला तीन भेटमध्ये एक खेल मोरक्कोले जितेको छ। सन् २०२३ को मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई २–१ ले पराजित गरेको थियो।

ब्राजिलका स्टार खेलाडी नेइमार चोटका कारण मैदानबाहिर रहने सम्भावना छ भने एलिसन बेकर, भिनिसियस जुनियर, राफिन्हा र ब्रुनो गीमारेस टोलीका प्रमुख आशा रहनेछन्।

मोरक्कोका कप्तान अक्राफ हकिमी र आक्रमणकारी ब्राहिम डियाजमाथि समर्थकहरूको विशेष नजर रहनेछ। दुवै टोलीका स्टार खेलाडीहरूको प्रदर्शनले खेलको नतिजा निर्धारण गर्न सक्ने अपेक्षा गरिएको छ।

 

तपाईको प्रतिक्रिया