सोमबार १ असार २०८३
खेलकुद

परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आज चीन प्रस्थान गर्दै छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी बेइजिङ जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप मजबुत बनाउने, विभिन्न क्षेत्रका सहकार्य विस्तार गर्ने तथा आपसी हितका विषयमा छलफल हुने जनाइएको छ।

भेटवार्तामा व्यापार, पूर्वाधार विकास, कनेक्टिभिटी, लगानी प्रवर्द्धन तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका समसामयिक विषयहरू समेत समेटिने मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा मन्त्री खनालले चीनका अन्य उच्चपदस्थ सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार तथा औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपाल–चीन सम्बन्धको आगामी दिशा, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजनाको प्रगति, व्यापारिक सहकार्य र आर्थिक सम्बन्ध विस्तारका दृष्टिले यस भ्रमणलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

भ्रमण अवधिमा मन्त्री खनालले लगानी प्रवर्द्धनसम्बन्धी कार्यक्रममा सहभागी हुँदै चिनियाँ व्यवसायी तथा लगानीकर्तासँग अन्तरक्रिया गर्नेछन्। उनी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसअघि मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म भारतको भ्रमण गरेका थिए।

 

तपाईको प्रतिक्रिया