सोमबार १ असार २०८३
राजनीति

परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चारदिने औपचारिक भ्रमणका लागि आइतबार चीन प्रस्थान गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुन लागेको भ्रमणका क्रममा उनले बेइजिङमा विभिन्न उच्चस्तरीय भेटघाट तथा कार्यक्रमहरूमा सहभागिता जनाउनेछन्।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच नेपाल–चीन सम्बन्धका विविध पक्षमा द्विपक्षीय वार्ता हुनेछ। दुई देशबीचको मित्रता, सहकार्य र पारस्परिक हितका विषयमा छलफल गर्दै सम्बन्धलाई थप मजबुत बनाउने विषय बैठकको मुख्य एजेन्डा रहने बताइएको छ।

भ्रमण अवधिमा मन्त्री खनालले चीनका अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि शिष्टाचार तथा कार्यगत भेटवार्ता गर्ने कार्यक्रम छ। साथै, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी भई उनले नेपालमा लगानीका सम्भावनाबारे चिनियाँ उद्यमी तथा व्यवसायीहरूसँग छलफल गर्नेछन्।

परराष्ट्रमन्त्रीको सम्मानमा नेपाली दूतावासले विशेष स्वागत समारोहको आयोजना गर्नेछ। उक्त अवसरमा उनले चीनमा रहेका नेपाली समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको छ।

मन्त्री खनाल असार ३ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ। भारतको तीनदिने भ्रमण सम्पन्न गरेको करिब एक सातापछि उनी चीन भ्रमणमा निस्किएका हुन्। उनको यो भ्रमणलाई नेपालले आफ्ना दुई प्रमुख छिमेकी मुलुक भारत र चीनसँग सन्तुलित तथा सकारात्मक कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ।

यसअघि फागुन २१ गते सम्पन्न निर्वाचनपछि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का केही वरिष्ठ प्रतिनिधिहरू काठमाडौं आएका थिए। उनीहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री खनाललगायत विभिन्न नेताहरूसँग भेट गर्दै नयाँ सरकारको नीति तथा प्राथमिकताबारे छलफल गरेका थिए।

तपाईको प्रतिक्रिया