काठमाडौँ । गत वर्षको असोजमा आएको भीषण बाढीका कारण क्षति पुगेको बीपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक खण्डमा आगामी असार १५ गतेभित्र सवारी सञ्चालन गर्ने तयारी भइरहेको छ। वर्षायाम सुरु हुनुअघि नै वैकल्पिक डाइभर्सनको भर नपरी मुख्य सडक संरचनामार्फत यातायात सञ्चालन गर्ने लक्ष्यसहित पुनर्निर्माण कार्यलाई तीव्र बनाइएको हो।
सडक डिभिजन भक्तपुरका प्रमुख सुमन योगेशका अनुसार हाल प्रयोग भइरहेका खोलाका डाइभर्सनहरू सामान्य वर्षाले समेत बगाउने अवस्था रहेको छ। यही समस्यालाई समाधान गर्न निर्माणाधीन सडकको माथिल्लो भागबाट सवारी सञ्चालन गर्ने गरी काम अघि बढाइएको उनले बताए। उनका अनुसार जेठ मसान्तसम्म अधिकांश आवश्यक संरचना निर्माण सम्पन्न हुनेछन् र असारदेखि मुख्य सडककै किनाराबाट सवारी आवागमन सुचारु हुनेछ।
निर्माण कम्पनीका प्रतिनिधि उत्तम ढुंगेलले निर्धारित समयभित्र सडक सञ्चालनमा ल्याउन दिनरात काम भइरहेको जानकारी दिए। विशेषगरी बक्सिगुना क्षेत्रमा २३० मिटरमध्ये अब करिब ७० मिटर सडक निर्माण मात्र बाँकी रहेको र केही दिनभित्रै उक्त खण्डमा सवारी सञ्चालन गर्न सकिने अवस्था बन्ने उनले बताए। बाढीका कारण पटक–पटक क्षति पुगे पनि हाल निर्माण सामग्री र जनशक्तिको अभाव नरहेको उनको भनाइ छ।
बाढीले पूर्ण रूपमा क्षति पुर्याएको भकुण्डेबेँसीदेखि नेपालथोकसम्मको २९ किलोमिटर सडक खण्डलाई तीन भागमा विभाजन गरी पुनर्निर्माण भइरहेको छ। पहिलो खण्ड अन्तर्गत भकुण्डेबेँसीदेखि चारसयबेँसीसम्मको ११.८ किलोमिटर सडकमा नवकान्तिपुर लामा जेभीले काम गरिरहेको छ र यस खण्डमा ३० प्रतिशतभन्दा बढी प्रगति भएको छ।
त्यस्तै, चारसयबेँसीदेखि डालाबेँसीसम्मको ८.५ किलोमिटर सडक खण्ड कमलजीत एवान जेभीले निर्माण गरिरहेको छ। डालाबेँसीदेखि वर्खेखोलासम्मको भाग जापानी सहयोग नियोग (जाइका)को सहयोगमा निर्माण भइरहेको छ भने वर्खेखोलादेखि नेपालथोकसम्मको करिब ४ किलोमिटर सडक नेपाली निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको छ।
पुनर्निर्माणसँगै बीपी राजमार्गको यो खण्डलाई स्तरोन्नति गरी आधुनिक दुई लेन सडकमा रूपान्तरण गरिने भएको छ। नयाँ डिजाइनअनुसार सडकको न्यूनतम चौडाइ ९ मिटर हुनेछ, जसमा ७ मिटर चौडा दुई लेन र दुवैतर्फ १–१ मिटरका पक्की सोल्डर रहनेछन्। सडक डिभिजनका अनुसार प्रारम्भिक डिजाइनमा अपेक्षाकृत कम सवारी चापको अनुमान गरिएको भए पनि वर्तमान आवश्यकता र भविष्यको यातायात व्यवस्थापनलाई ध्यानमा राखेर सडकलाई फराकिलो बनाइँदैछ।
तपाईको प्रतिक्रिया