काठमाडौं महानगरले अन्तर्राष्ट्रियस्तरको ‘काठमाडौ फिल्म फेस्टिभल’ आयोजना गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत राजधानीको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राखेको छ। ‘सांस्कृतिक सहर : समृद्ध महानगर’ को अवधारणालाई साकार पार्ने लक्ष्यसहित महानगरले विविध योजना अघि सारेको हो।
महानगरको नीति तथा कार्यक्रममा काठमाडौंलाई खुला र जीवन्त संग्रहालय तथा रचनात्मक सहरका रूपमा विकास गर्ने लक्ष्य उल्लेख गरिएको छ। यसका लागि ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ, मन्दिर, चैत्य, बहाल, हिति, पोखरी, गुम्बा, स्तुपा, चोक, डबली, फल्चा लगायतका सम्पदाको अध्ययन, डिजिटल अभिलेखीकरण, नक्सांकन, मर्मत, पुनर्निर्माण तथा संरक्षण गरिने जनाइएको छ।
साथै, महानगरले अन्तर्राष्ट्रिय स्तरको ‘काठमाडौं फिल्म फेस्टिभल’ आयोजना गर्ने योजना पनि सार्वजनिक गरेको छ। यस कार्यक्रममा विदेशी पाहुनालाई समेत सहभागी गराई काठमाडौंको कला, संस्कृति र रचनात्मक पहिचानलाई विश्वसामु प्रस्तुत गर्ने उद्देश्य राखिएको छ।
परम्परागत सीप, कला र सांस्कृतिक ज्ञानको संरक्षण तथा पुस्तान्तरणलाई प्रोत्साहन गर्न ऐतिहासिक र वास्तुकलात्मक महत्वका निजी तथा संस्थागत भवनहरूको पुनर्निर्माणमा सहयोग गरिने नीति लिइएको छ। सम्पदा बस्तीहरूको संरक्षण र संवर्द्धनमा समेत विशेष ध्यान दिइने महानगरले जनाएको छ।
इन्द्रजात्रा, सेतो मछिन्द्रनाथ जात्रा लगायतका प्रमुख सांस्कृतिक मार्गहरूमा सम्पदामैत्री भवनको अग्रभाग (फसाड) निर्माण गर्न प्रोत्साहन गरिने कार्यक्रम पनि समेटिएको छ। यस्तै, पर्यटन प्रवर्द्धनका लागि पुराना बस्ती तथा सांस्कृतिक क्षेत्रहरूमा होमस्टे सञ्चालनलाई प्रोत्साहन गरिने भएको छ।
स्थानीय जात्रा, पर्व, परम्परागत कला, सांस्कृतिक परिकार, बाजागाजा र संगीतजस्ता अमूर्त सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै तिनलाई युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा सूचीमा समावेश गराउन आवश्यक पहल गर्ने योजना पनि महानगरले अघि सारेको छ।
जलसम्पदा संरक्षणलाई पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। महानगर क्षेत्रभित्रका पोखरी र ढुंगेधाराहरूको पुनर्स्थापना, वर्षाको पानी संकलन तथा भू–पुनर्भरणका कार्यक्रम सञ्चालन गरी वातावरणीय सन्तुलन कायम गर्न जोड दिइने बताइएको छ।
त्यसैगरी, लोककला, पाककला, परम्परागत भेषभूषा, शिल्प, गरगहना, साहित्य, संगीत तथा प्राकृतिक सम्पदालाई चलचित्र र रचनात्मक उद्योगमार्फत प्रवर्द्धन गर्न चलचित्र महोत्सव, खाना महोत्सव, प्रदर्शनी तथा एक्स्पोजस्ता कार्यक्रम आयोजना गरिनेछन्।
महानगरले निर्माण गरेको ‘यें देय् सांस्कृतिक छेँ’ सञ्चालनमा ल्याइनेछ भने अन्तर्राष्ट्रिय रूपमा परिचित इन्द्रजात्राका प्रमुख देवता श्री गणेश र श्री भैरवका लागि स्थायी निवास निर्माणको व्यवस्था मिलाउने योजना पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ।
तपाईको प्रतिक्रिया