आगामि निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’ परिचालन
काठमाडौँ । आगामी स्थानीय तथा प्रदेश निर्वाचनलाई केन्द्रमा राख्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशभर पार्टी संगठन सुदृढीकरण र जनसम्पर्क विस्तार अभियान सञ्चालन गर्ने भएको छ। यसका लागि पार्टीले आफ्ना केन्द्रीय सदस्यहरूलाई ‘मिसन जागरण’ अभियानमा सक्रिय रूपमा खटाउने निर्णय गरेको छ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित उक्त अभियान सञ्चालन गर्न लागिएको हो। अभियानमार्फत मतदातासँग प्रत्यक्ष सम्पर्क बढाउने, जनभावना बुझ्ने र संगठनलाई थप सक्रिय बनाउने लक्ष्य राखिएको छ।
पार्टीले जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउन ‘६ ज’ अवधारणालाई अघि सारेको छ। यस अन्तर्गत जनतामाझ पुग्ने, उनीहरूको कुरा सुन्ने, जनप्रिय कार्यशैली अपनाउने, जनसंगठनलाई परिचालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) लाई व्यवहारमा उतार्ने तथा जनमत सर्वेक्षणका आधारमा सक्षम र प्रतिस्पर्धी नेतृत्व तयार गर्ने योजना समावेश गरिएको छ।
यस अभियानको कार्ययोजना पार्टीका विभिन्न तहमा पठाइसकिएको र त्यसअनुसार संगठन परिचालनको तयारी भइरहेको एमालेले जनाएको छ।
तपाईको प्रतिक्रिया