चिया निर्यातमा भारतीय अवरोध, भोलिदेखि उद्योग बन्द गर्ने उद्योगीको घोषणा
काठमाडौं । भारतीय पक्षबाट नेपाली चिया निर्यातमा थप कडाइ गरिएपछि इलामका चिया उद्योगीहरूले असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय गरेका छन्। निर्यात प्रक्रियामा देखिएका अवरोधका कारण उत्पादन र बिक्री प्रभावित भएपछि उद्योग सञ्चालन गर्न कठिन भएको उद्योगीहरूको भनाइ छ।
सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले हाल लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चिया व्यवसाय गम्भीर संकटमा परेको उल्लेख गरिएको छ। एसोसिएसनका अनुसार गुणस्तर परीक्षणका नाममा अपनाइएका जटिल प्रक्रिया, परीक्षण नतिजामा ढिलाइ तथा पर्याप्त भण्डारण सुविधाको अभावले निर्यात प्रभावित भएको छ।
एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठले हाल करिब १२ लाख किलो तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको जानकारी दिए। उनका अनुसार भारतमा निर्यात गरिएको २ लाख किलोभन्दा बढी चिया गुणस्तर परीक्षणको प्रक्रियामा भारतीय गोदाममै रोकिएको छ भने नेपालका उद्योगहरूमा थप १० लाख किलोभन्दा बढी तयारी चिया मौज्दात रहेको छ।
उद्योगीहरूले भारतीय चिया बोर्डले नमुना परीक्षणको प्रतिवेदन समयमै उपलब्ध नगराउने र गुणस्तरमा समस्या देखिएमा चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था गरेको भन्दै त्यसलाई अव्यावहारिक र व्यवसायविरोधी कदमका रूपमा लिएका छन्।
निर्यात ठप्प बनेपछि उद्योगहरू आर्थिक दबाबमा परेका छन्। त्यसको प्रत्यक्ष असर चिया किसानहरूमा समेत परेको छ, किनकि उद्योगहरूले हरियो चियापत्तीको भुक्तानी गर्न नसक्ने अवस्था सिर्जना भएको बताइएको छ।
यही कारण उद्योग सञ्चालन असम्भव बन्दै गएको निष्कर्षसहित उद्योगीहरूले असार १ गतेदेखि सम्पूर्ण उद्योग बन्द गर्ने घोषणा गरेका छन्। उद्योग बन्दबाट किसान, श्रमिक तथा व्यवसायीहरूमा पर्न सक्ने असरप्रति दुःख व्यक्त गर्दै एसोसिएसनले समस्या समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग तत्काल पहल गर्न आग्रह गरेको छ। साथै राजनीतिक दल तथा सरोकारवाला निकायहरूलाई पनि चिया क्षेत्रको संकट समाधानमा सहयोग गर्न अपिल गरिएको छ।
तपाईको प्रतिक्रिया