राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो लुम्बिनी प्रदेश अधिवेशनबाट शालिकराम घिमिरे प्रदेश सभापतिमा चयन भएका छन्।
प्रारम्भिक चरणको मतदानमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको निर्वाचन तय गरिएको थियो। तर निकटतम प्रतिस्पर्धी गोपाल घिमिरेले शालिकरामलाई समर्थन जनाएपछि थप मतदान नगरी उनलाई सभापति निर्वाचित घोषणा गरिएको हो।
सभापति पदका लागि भएको प्रतिस्पर्धामा कुल ६ जना उम्मेदवार मैदानमा थिए। रुपन्देहीका शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत प्राप्त गरे भने अर्घाखाँचीका गोपाल घिमिरेले ८७ मत ल्याए। त्यसैगरी गणेश पौडेलले ८४, डा. राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१ तथा मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।
अधिवेशनमा मतदानका लागि ८४३ प्रतिनिधि योग्य रहे पनि ५५२ जनाले मात्र मतदानमा सहभागिता जनाएका थिए। सभापति चयनपछि उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षलगायत अन्य पदाधिकारीको टुंगो सहमतिका आधारमा लगाउने प्रयास भइरहेको रास्वपाले जनाएको छ।
पार्टीका नेता सहयोगी बीसीका अनुसार अधिकांश प्रतिनिधि अधिवेशनस्थलबाट फर्किसकेकाले बाँकी पदहरूमा निर्वाचन हुने वा नहुने विषय अझै अनिश्चित छ। प्रतिनिधिहरूको उपस्थिति न्यून भएकाले अन्य पदाधिकारीहरू पनि सहमतिमार्फत चयन गर्ने सम्भावना रहेको उनले बताए। प्रदेश प्रवक्ताको पद भने मनोनयनबाट पूर्ति गरिने व्यवस्था छ।
यद्यपि अधिवेशनमा सहभागी केही प्रतिनिधिहरूले बन्दसत्रमा पार्टीको नीति, विचार र सिद्धान्तबारे अपेक्षित छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया