सोमबार १ असार २०८३
राजनीति

गगन–विश्वलाई कृष्ण सिटौलाको जवाफ : पत्र होइन, प्रत्यक्ष संवाद गरौँ

आइतबार जेठ ३१, २०८३/ Sunday 06-14-26

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवाद पत्राचारबाट नभई प्रत्यक्ष संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन्।

आइतबार विराटनगरमा आयोजित कांग्रेसको संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै सिटौलाले सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको बहसभन्दा संगठनात्मक एकतामा केन्द्रित हुन आग्रह गरे।

उनले शीर्ष नेताहरूबीच खुलेर छलफल भए छोटो समयमै सहमति जुट्न सक्ने दाबी गरे। “यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट बसेर वार्ता गरे सबै कुरा मिल्छ,” सिटौलाले भने, “लेख्ने चक र मेट्ने डस्टर दुवै तपाईंकै हातमा छ। कांग्रेसको खण्डित अवस्थालाई अन्त्य गर्न नेतृत्वले पहल गर्नुपर्छ।”

सिटौलाले १५औँ महाधिवेशन निर्धारित प्रक्रिया र समयमै सम्पन्न गर्नुपर्ने धारणा राख्दै अनावश्यक विवादले पार्टीलाई कमजोर बनाउने बताए। १०औँ, ११औँ र १२औँ महाधिवेशनझैँ नियमित प्रक्रियाअनुसार अघि बढ्दा समस्या समाधान हुने उनको भनाइ थियो।

कांग्रेसभित्रको विभाजित मनस्थितिले देशलाई सही दिशा दिन नसक्ने उल्लेख गर्दै उनले पार्टी एकतालाई अहिलेको प्रमुख आवश्यकता बताए। “मनदेखि खण्डित कांग्रेसले देश जोगाउन सक्दैन। देशलाई गति दिन कांग्रेसभित्रको एकता अपरिहार्य छ,” उनले भने।

सिटौलाले लोकतन्त्र र शासन प्रणाली नै चुनौतीमा परिरहेको दाबी गर्दै जनताको मनबाट डर हटाउने जिम्मेवारी राजनीतिक दलहरूको भएको बताए। चुनाव जितेर सरकार चलाउनु मात्र दलहरूको दायित्व नभई नागरिकमा विश्वास र आशा जगाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।

देशमा अस्थिरता र जटिलता बढ्न सक्ने चेतावनी दिँदै उनले कांग्रेसले नयाँ जागरण अभियान सुरु गर्नुपर्ने आवश्यकता औंल्याए। जनतासँगको सम्बन्ध सुदृढ गर्दै लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्न कांग्रेस अग्रसर हुनुपर्नेमा उनले जोड दिए।

सिटौलाले पार्टीभित्र देखिएको विवाद अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउँदै पत्रभन्दा प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिन आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया