मंगलबार २ असार २०८३
बिजनेस

सातै प्रदेशले आज बजेट ल्याउँदै

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्ने भएका छन्। संविधानअनुसार असार १ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था रहेकाले प्रदेश सरकारहरू बजेट ल्याउने अन्तिम तयारीमा जुटेका छन्।

यस वर्ष प्रदेशहरूले सुशासन, कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरेका छन्। संघीय सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटलाई आधार मानेर प्रदेशहरूले आफ्ना कार्यक्रम तथा बजेट तय गरेका हुन्।

कोशी प्रदेशले चालु आर्थिक वर्षको तुलनामा करिब पाँच अर्ब रुपैयाँले बजेट बढाउँदै झन्डै ४० अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ। बजेट प्रस्तुतिका लागि प्रदेशसभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ।

मधेश प्रदेश सरकारले भने बजेटको आकार घटाउने भएको छ। अर्थमन्त्री युवराज भट्टराईले चालु वर्षभन्दा करिब ६ अर्ब रुपैयाँ कम गरी ४२ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने तयारी गरेका छन्। बजेट आज दिउँसो १ बजे प्रस्तुत हुनेछ।

बागमती प्रदेशले करिब ६६ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ भने गण्डकी प्रदेशले आत्मनिर्भर अर्थतन्त्रलाई प्राथमिकतामा राख्दै झन्डै ३३ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्ने भएको छ।

लुम्बिनी प्रदेश सरकारले कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै चालु वर्षको तुलनामा करिब पाँच अर्ब रुपैयाँ घटाएर झन्डै ३८ अर्ब रुपैयाँको बजेट ल्याउने तयारी गरेको छ।

कर्णाली प्रदेशले विकास निर्माण तथा पुँजीगत खर्चलाई प्राथमिकता दिँदै ३६ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याउने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले पनि चालु वर्षको ३१ अर्ब रुपैयाँभन्दा ठूलो आकारको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।

यद्यपि सुदूरपश्चिममा बजेटको विषयलाई लिएर सत्ता गठबन्धनभित्र अन्तिम समयसम्म छलफल जारी रहेको छ। गत आर्थिक वर्षमा समयमै बजेट पारित हुन नसक्दा प्रदेश सरकारले केही समय खर्च गर्न नसक्ने अवस्था बेहोर्नुपरेको थियो।

 

तपाईको प्रतिक्रिया