धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि हालसम्मकै ठूलो आकारको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। सोमबार बजेट प्रस्तुत गर्ने कार्यतालिका भए पनि आइतबारसम्म बजेट निर्माण र अन्तिम रूप दिने काम जारी रहेको थियो।
प्रदेश नीति तथा योजना आयोगका सदस्य नृपबहादुर सुनारका अनुसार यस वर्ष बजेटको आकार अघिल्लो वर्षको तुलनामा वृद्धि हुने सम्भावना छ। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको थियो।
सरकारले बजेटको आकार बढाउन चालु आर्थिक वर्षको खर्च बचतलाई मुख्य आधार बनाएको छ। प्रदेश सरकारको अनुमानअनुसार यस वर्षको बजेटबाट करिब ८ अर्ब रुपैयाँ बचत हुने देखिएको छ। साथै वनजन्य स्रोत, गिट्टी–बालुवा तथा अन्य क्षेत्रबाट आन्तरिक राजस्व वृद्धि हुने अपेक्षाले पनि बजेट विस्तारमा सहयोग पुर्याएको अधिकारीहरूको भनाइ छ। चालु वर्षमा आन्तरिक राजस्व संकलन लक्ष्य १ अर्ब ६५ करोड रुपैयाँ निर्धारण गरिएको थियो।
यद्यपि बजेट तयारीको अन्तिम चरणमा मन्त्री फेरबदल भएपछि प्रक्रिया केही प्रभावित भएको छ। पाँच दिनअघि भएको मन्त्रिपरिषद् पुनर्गठनमा आर्थिक मामिला मन्त्री परिवर्तन भएपछि नयाँ मन्त्री विक्रमसिंह धामीले अघिल्ला मन्त्री बहादुरसिंह थापाले तयार पारेका योजना र बजेट प्रस्ताव पुनः समीक्षा गर्न थालेका छन्। यसले बजेट निर्माणमा केही ढिलाइ भएको मन्त्रालय स्रोतले जनाएको छ।
आर्थिक मामिलासँगै सामाजिक विकास तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा पनि नयाँ मन्त्री नियुक्त भएका छन्। मन्त्री परिवर्तनसँगै ती मन्त्रालयका योजना र प्राथमिकतामा समेत पुनरावलोकन भइरहेको बताइएको छ।
सत्तारुढ दलका सांसद र पार्टी पङ्क्तिबाट आएका योजना तथा बजेट मागका कारण पनि सरकारमाथि बजेटको आकार बढाउने दबाब परेको बताइन्छ। प्रदेश सरकारले सांसदहरूबाट विभिन्न योजना संकलन गरिसकेको छ भने उनीहरूका लागि करिब ३ अर्ब २९ करोड रुपैयाँ बराबरको बजेट व्यवस्थापन गर्ने तयारी गरेको छ।
बजेट निर्माणको चाप बढिरहेका बेला आर्थिक मामिला तथा भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रीसँगको भेटघाट अस्थायी रूपमा बन्द गरेको छ। मन्त्रालयले सूचना जारी गर्दै कार्यव्यस्तताका कारण भेटघाट स्थगित गरिएको जनाएको छ। योजना माग्नेहरूको भीड बढेपछि यस्तो निर्णय लिनुपरेको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
तपाईको प्रतिक्रिया