मंगलबार २ असार २०८३
अर्थ

आजदेखि बन्द भए चिया उद्योग

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौं । नेपाली चिया निर्यातमा भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगहरू सोमबारदेखि बन्द भएका छन्। निर्यात प्रक्रिया जटिल बनेपछि उत्पादित चियाले बजार नपाउँदा उद्योगीहरू उत्पादन रोक्न बाध्य भएका हुन्।

नेपाल चिया उत्पादक संघका अनुसार भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चियाको भारत निकासी प्रभावित भएको छ। निर्यातका क्रममा भारतीय भन्सारमा चियाको नमुना परीक्षणका लागि पठाइने र नतिजा आउन १५ देखि २० दिनसम्म लाग्ने व्यवस्थाले आयातकर्ताहरूलाई निरुत्साहित बनाएको उद्योगीहरूको भनाइ छ।

संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार परीक्षण प्रक्रियामा झन्झट बढेपछि भारतीय व्यापारीहरू नेपाली चिया खरिद गर्न इच्छुक देखिएका छैनन्। रिपोर्टमा सामान्य त्रुटि देखिए पनि चिया नष्ट गरिन सक्ने जोखिमका कारण आयातकर्ताहरू पछि हटिरहेका छन्।

यस अवस्थाले पहाडी क्षेत्रका अर्थोडक्स चिया उद्योगहरू तत्कालै बन्द भएका छन् भने तराईका सीटीसी चिया उद्योगहरू पनि केही दिनभित्र बन्द हुने तयारीमा छन्। उद्योगीहरूका अनुसार चिया बिक्री हुन नसक्दा गोदाममा थन्किएको चिया बिग्रने जोखिम बढेको छ।

नेपालमा उत्पादित चियामध्ये ठूलो हिस्सा भारतीय बजारमा निर्भर छ। इलाममा वार्षिक करिब ६५ लाख किलो र झापामा करिब २ करोड किलो चिया उत्पादन हुने गरेको छ, जसको झन्डै ९० प्रतिशत भारतमा निर्यात हुने गरेको छ।

सूर्योदय अर्थोडक्स टि प्रोड्युसर्स एसोसिएसन नेपालका अनुसार भारतमा पुगेको करिब २ लाख किलो चिया आयातकर्ताको गोदाममै रोकिएको छ भने निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै थन्किएको अवस्थामा छ।

उद्योगीहरूले चिया क्षेत्र गम्भीर संकटमा परे पनि सरकारले समस्या समाधानका लागि प्रभावकारी कूटनीतिक पहल नगरेको गुनासो गरेका छन्। उद्योग बन्द भएपछि पहाडका ५६ र तराईका ३० वटा चिया उद्योग प्रभावित हुनेछन्। यसबाट हजारौं मजदुर, किसान तथा हरियो चियापत्ती आपूर्ति गर्ने कृषक प्रत्यक्ष रूपमा मारमा पर्ने देखिएको छ।

उद्योगीहरूका अनुसार चिया बिक्री नहुँदा मजदुरको ज्याला तथा किसानलाई भुक्तानी दिनसमेत कठिनाइ भएको छ। उनीहरूले सरकारलाई पटक–पटक समस्या जानकारी गराइसकेको र छिट्टै आवश्यक कूटनीतिक पहल हुने अपेक्षा राखेका छन्।

तपाईको प्रतिक्रिया