रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कर्णाली प्रदेश सभापति चयनका लागि तीन जनाले उम्मेदवारी दिएका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा जारी प्रदेश अधिवेशनअन्तर्गत सभापति पदका लागि वर्तमान सभापति मदन खड्का, नेता नन्दकिशोर बस्नेत (एनके) र कोषाध्यक्ष स्नेहा उपाध्याय चुनावी मैदानमा उत्रिएका हुन्। खड्का र उपाध्याय सुर्खेतका बासिन्दा हुन् भने बस्नेत दैलेखका हुन्।
प्रतिनिधि विवादका कारण आइतबार सुरु हुन नसकेको मतदान प्रक्रिया अन्ततः विवाद यथावत् राख्दै अघि बढाइएको प्रदेशस्तरीय नेताहरूले बताएका छन्। पार्टीको समायोजन प्रक्रिया जारी रहेकाले विभिन्न समूहलाई समेट्ने उद्देश्यले प्रतिनिधि चयन गरिएको उनीहरूको भनाइ छ।
अधिवेशनमा करिब ५३० प्रतिनिधि सहभागी रहेको जनाइएको छ। तीमध्ये झण्डै ३०० प्रतिनिधिको वैधानिकतामाथि विवाद रहेको बताइएको छ।
पार्टी विधानअनुसार कर्णाली प्रदेश समिति ४१ सदस्यीय हुनेछ। पहिलो चरणमा सभापति र सदस्यहरूको निर्वाचन हुनेछ भने त्यसपछि दोस्रो चरणमा उपसभापति, महामन्त्री तथा सहमहामन्त्रीलगायत पदाधिकारी चयनका लागि प्रक्रिया अघि बढाइनेछ।
विधानमा प्रदेश समितिमा सभापति, उपसभापति, महामन्त्री, दुई जना सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहितको पदाधिकारी संरचना रहने व्यवस्था छ। कोषाध्यक्ष र प्रवक्ताको पद भने मनोनयनमार्फत पूर्ति गरिने प्रावधान रहेको छ।
तपाईको प्रतिक्रिया