मंगलबार २ असार २०८३
राजनीति

गिरीबन्धु टी–इस्टेटको फाइल खोल्न एमालेले दियो सरकारलाई चुनौती

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौँ । नेकपा एमालेले सरकारले विवादित भनिएका सबै प्रकरणको निष्पक्ष छानबिन गर्नुपर्ने भन्दै गिरिबन्धु टी–स्टेटको फाइलबाट प्रक्रिया सुरु गर्न सरकारलाई चुनौती दिएको छ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले उपाध्यक्ष तथा सांसद पद्मा अर्यालले बजेटमाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले दिएको भनिएको ‘फाइल खोल्ने’ अभिव्यक्तिप्रति आपत्ति जनाइन्। उनले यदि सरकार साँच्चै छानबिनका पक्षमा छ भने गिरिबन्धु टी–स्टेट प्रकरणलाई पहिलो प्राथमिकतामा राखेर अनुसन्धान अघि बढाउन आग्रह गरिन्।

अर्यालले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडी लगायतका सबै विवादित विषयमा समेत छानबिन गर्न सरकारलाई आग्रह गर्दै त्यसबाट सत्यतथ्य सार्वजनिक हुनुपर्ने बताइन्। साथै छानबिनबाट आरोप पुष्टि नभए आरोप लगाउने पक्षले जिम्मेवारी लिन तयार छ कि छैन भन्ने प्रश्न पनि उठाइन्।

उनले संसद्मा सरकारका मन्त्रीहरूले विपक्षीलाई लक्षित गर्दै धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिनु उपयुक्त नभएको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि व्यक्त गरिन्।

यसै क्रममा अर्यालले परराष्ट्रमन्त्री शिशिर खनालको हालैको भारत भ्रमणका क्रममा व्यक्त भनिएको ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने अभिव्यक्तिप्रति पनि आलोचना गरिन्। उनले उक्त भनाइले नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी अडानलाई कमजोर बनाउने संकेत गरेको दाबी गरिन्।

कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता विषयमा नेपालको स्पष्ट दाबी रहेको अवस्थामा यस्ता अभिव्यक्तिले भ्रम सिर्जना गर्न सक्ने उनको भनाइ थियो। सरकारका उच्च पदस्थ व्यक्तिहरूले सार्वजनिक रूपमा दिने अभिव्यक्ति राष्ट्रको परराष्ट्र नीति र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिने भएकाले त्यसमा विशेष सावधानी अपनाउनुपर्ने उनले बताइन्।

अर्यालले राष्ट्रिय स्वार्थ र सार्वभौमिकतासम्बन्धी विषयमा सरकार एकीकृत र स्पष्ट अडानका साथ प्रस्तुत हुनुपर्ने आवश्यकता पनि औंल्याइन्।

तपाईको प्रतिक्रिया