मंगलबार २ असार २०८३
राजनीति

नेपाल–भारत सीमामा काँडेतार भने पनि लगाइयोस्– आशिका तामाङ

सोमबार असार १, २०८३/ Monday 06-15-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले नेपालको सीमा सुरक्षा र भूमि संरक्षणका विषयमा सरकार थप संवेदनशील बन्नुपर्ने बताएकी छन्। उनले सीमासम्बन्धी सबै विवाद र समस्याको गहिरो अध्ययन गरी आवश्यक कूटनीतिक पहल अघि बढाउन सरकारसँग आग्रह गरेकी हुन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक परे नेपाल र भारतबीचको सहमतिमा पर्खाल वा काँडे तारबार लगाउने विकल्पसमेत विचार गर्नुपर्ने धारणा राखिन्।

उनले कुनै पनि राष्ट्रले आफ्नो भूमि र सीमाको प्रभावकारी सुरक्षा गर्न नसके त्यसले राष्ट्रिय सार्वभौमिकतामाथि नै प्रश्न उठाउने बताइन्। त्यसैले सीमा व्यवस्थापन र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।

सांसद तामाङले नवलपरासीस्थित सुस्ता क्षेत्रको समस्या लामो समयदेखि समाधान हुन नसकेको उल्लेख गर्दै गण्डकी नदीको धार परिवर्तनका कारण त्यहाँको ठूलो भूभाग विवादमा परेको बताइन्। पछिल्लो समय भारतीय सशस्त्र सीमा बल (एसएसबी) का गतिविधि र स्थानीयवासीमाथि दबाब सिर्जना गरिएको भन्ने समाचार सार्वजनिक भएकाले त्यसको यथार्थबारे सरकारले स्पष्ट जानकारी दिनुपर्ने उनको माग थियो।

उनले सुस्ता मात्र नभई लिपुलेक, लिम्पियाधुरा र कालापानीजस्ता क्षेत्रहरू पनि नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतासँग प्रत्यक्ष रूपमा जोडिएका संवेदनशील विषय भएको उल्लेख गरिन्। साथै, सीमा विवादका समस्या यी क्षेत्रहरूमा मात्र सीमित नरही अन्य सीमावर्ती क्षेत्रमा पनि विभिन्न चुनौतीहरू देखिएको भन्दै सरकारले दीर्घकालीन रणनीति बनाएर समाधान खोज्नुपर्नेमा जोड दिइन्।

तपाईको प्रतिक्रिया