काभ्रेपलाञ्चोक । मनसुनका बेला हुन सक्ने बाढी तथा प्राकृतिक विपद्को जोखिम कम गर्न काभ्रेपलाञ्चोकका नदीतटीय क्षेत्रमा मौसम तथा बाढी मापन प्रणालीलाई थप सुदृढ बनाइँदै छ। जल तथा मौसम विज्ञान विभागले सुनकोसी र रोशी नदी आसपासका क्षेत्रमा नयाँ उपकरण जडान तथा व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।
विभागका अनुसार जिल्लाभर तीन स्थानमा बाढी मापन केन्द्र र एक स्थानमा मौसम मापन केन्द्र थप स्थापना गर्ने तयारी गरिएको छ। यसका लागि सम्बन्धित निकाय र स्थानीय समुदायसँग आवश्यक छलफल तथा समन्वय भइसकेको छ।
विभागका वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीका अनुसार हाल जिल्लाका सात स्थानमा मौसम मापन उपकरण र तीन स्थानमा बाढी मापन उपकरण सञ्चालनमा छन्। धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट तथा पचुवारघाटमा मौसमसम्बन्धी तथ्यांक सङ्कलन गर्ने उपकरण जडान गरिएको छ।
त्यसैगरी, सुनकोसी नदी क्षेत्रअन्तर्गत दोलालघाट र पचुवारघाट तथा पनौती बजार नजिक बाढीको सतह मापन गर्ने उपकरण राखिएको छ।
विभागले रोशी गाउँपालिका–२ फलामेसाँघुमा नयाँ मौसम मापन केन्द्र स्थापना गर्ने तयारी गरेको छ। साथै पनौती र नमोबुद्ध नगरपालिकाको सीमा क्षेत्र, रोशी खोला पुल तथा रोशी–सुनकोसी संगमस्थल नजिकको नेपालथोक पुलमा थप बाढी मापन उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको छ।
बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन पनौतीस्थित गोरखनाथ मन्दिर नजिक परीक्षणका रूपमा बाढीको अवस्था संकेत गर्ने चेतावनी बत्तीसमेत जडान गरिएको विभागले जनाएको छ।
तपाईको प्रतिक्रिया