काठमाडौं । चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र चिनियाँ विदेशमन्त्री वाङ यी बीच बेइजिङमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयाम तथा आपसी हितका विषयमा विस्तृत छलफल भएको थियो। छलफलका क्रममा सम्पर्क सञ्जाल (कनेक्टिभिटी), सीमा व्यवस्थापन, व्यापार, लगानी, ऊर्जा, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसनलगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको थियो।
दुवै पक्षले पारस्परिक हित र सम्मानका आधारमा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ र गतिशील बनाउने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्। भेटपछि मन्त्री खनालले सामाजिक सञ्जाल एक्समार्फत दुई देशबीचको सहकार्यलाई थप उचाइमा पुर्याउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिनुभएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले लिउ हाइसिङ सँग पनि छुट्टै भेटवार्ता गर्नुभएको थियो। उक्त भेटमा पूर्वाधार विकास, ऊर्जा, पर्यटन, व्यापार, लगानी, रासायनिक मल आपूर्ति, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण, जनस्तरको सम्बन्ध विस्तारलगायत विषयमा सहकार्य बढाउनेबारे विचार आदानप्रदान भएको बताइएको छ।
नेपाली पक्षले ‘एक चीन नीति’प्रति नेपाल सरकारको अटल प्रतिबद्धता दोहोर्याउँदै नेपालको भूमि चीनविरुद्ध हुने कुनै पनि गतिविधिका लागि प्रयोग हुन नदिने स्पष्ट गरेको छ।
विदेशमन्त्री वाङ यीको निमन्त्रणामा गत आइतबार बेइजिङ पुग्नुभएका मन्त्री खनाल भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया